राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीमाथि भ्रष्टाचार अभियोग लागेको हुँदा यसको निष्पक्ष छानबिन हुनुपर्ने माग गरिएको छ।
शिक्षा तथा स्वास्थ्य अभियन्ता विजय थापाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले उपाध्यक्ष डा गिरीमाथि लागेको भ्रष्टाचार अभियोगको निष्पक्ष छानबिन गरी दोषि देखिए कारवाही गर्नुपर्ने माग गरे।
उनले भने, ‘यही माघ २२ गतेसम्ममा आयोगका उपाध्यक्ष डा गिरीमाथि लागेको भ्रष्टाचार अभियोगको छानबिन गरी कारवाही नभए म आमरण अनशन बस्ने घोषणा गर्दछु’
आयोगका उपाध्यक्ष डा गिरीलाई उन्मुक्ति दिलाउनका लागि विभिन्न प्रपञ्च रचिएको र बी एन्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई कानूनी डण्डा देखाएर तर्साउन खोजिएको भन्दै थापाले आपत्ति जनाए।
उनले भने, ‘घुस मागेको आरोप लागेका आयोगका उपाध्यक्ष गिरिमाथि कुनै छानबिन नहुने तर जोसँग घुस मागिएको छ। अर्थात् (मेडिकल सञ्चालक) जो स्वम् पीडित भएँ भनेर न्याय माग्दै छन्। उसैलाई कानूनी डण्डा देखाएर तर्साउनेजस्ता क्रियाकलाप गरिएको छ, यो गलत हो।’ थापाले मेडिकल कलेजलाई सम्बन्धन दिन २० (बीस करोड) घुस मागेको आरोप लाग्दै आएको जानकारीसमेत दिए। रासस
प्रतिक्रिया