ad ad

समाज


तीन अर्ब व्यक्ति सुरक्षित शौचालयको सुविधाबाट वञ्चित, कस्तो छ नेपालको अवस्था?

तीन अर्ब व्यक्ति सुरक्षित शौचालयको सुविधाबाट वञ्चित, कस्तो छ नेपालको अवस्था?

फाइल फाेटाे : स्वयम्भू बुद्धपार्कस्थित सार्वजनिक शौचालय।


भीष्मराज ओझा/रासस
मंसिर ३, २०८० आइतबार १०:१६, काठमाडौँ

विश्व शौचालय दिवस विश्वसँगै आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ। संयुक्त राष्ट्र सङ्घले सन् २०१३ देखि नोभेम्बर १९ लाई विश्व शौचालय दिवसका रुपमा मनाउने गरेको हो।

मानव समुदायलाई मानवजन्य दिसा र पिसाबबाट उत्पन्न हुनसक्ने जीवाणुले ल्याउने रोगब्याधिबाट बचाउन शौचालय निर्माण गर्ने र प्रयोग गर्ने बानी विकसित गराउन यो दिवस मनाउन सुरु गरिएको हो। 

यस वर्ष पनि संयुक्त राष्ट्र सङ्घको आह्वानमा १९ नोभेम्बरमा विश्वभर शौचालय दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। यस वर्षको नारा ‘परिवर्तनको गति बढाउँदै’ हो।

राष्ट्र सङ्घले सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्ने कार्यक्रम तय गरी कार्यान्वयनमा ल्याइरहेको छ। दिगो विकासको छैटौँ लक्ष्यमा स्वच्छ खानेपानी र सरसफाइको विषय रहेको छ। तर सन् २०३० सम्म सबैलाई स्वच्छ र सुरक्षित पानी पुर्‍याउने र सरसफाइ शतप्रतिशत हुने अवस्थामा पुर्‍याउने कार्यमा प्रगति भने सुस्तगतिमा भइरहेको छ। यसै तथ्यलाई ध्यान दिई राष्ट्र सङ्घले यस वर्षको नारा परिवर्तनको गति बढाउदै भन्ने राखेको हो।

राष्ट्र सङ्घका अनुसार विश्वका साढे तीन अर्ब व्यक्ति अझै पनि सुरक्षित शौचालयको सुविधाबाट वञ्चित छन्। त्यसमध्ये ४१ करोड ९० लाख व्यक्ति अझै पनि खुलास्थानमा दिसा–पिसाब गर्छन्। खुला दिसा र पिसाबका कारण फैलने रोगले दैनिक एक हजार बालबालिकाको मृत्यु हुने गरेको छ। यसले प्रकृति, महिला, युवती र अन्य संकटापन्न समूहको स्वास्थ्यमा जोखिम बढाएको छ।

सुरक्षित शौचालय, पूर्ण सरसफाइ र सबैका लागि स्वच्छ पानीको लक्ष्य हासिल गर्न अब सात वर्षमात्र बाँकी छ।यो लक्ष्य हासिल गर्न अहिले गरेको कामको गति पाँच गुना तीव्र बनाउनुपर्ने स्मार्ट वास सोलुसन्स नेपालका अध्यक्ष ई. रामदीप साहले बताए। 

नेपालमा सरसफाइको अवस्था

विसं २०७६ असोज १९ गते खुला दिसामुक्त र पूर्ण सरसफाइमा अग्रसर राष्ट्र घोषणा भएको हो। सरकारले सन् २०११ देखि हरेक जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न थालेको थियो। सबैभन्दा पहिला कास्की खुला दिसामुक्त घोषणा भएको थियो। झण्डै नौ वर्षको अनवरत प्रयासपछि सन् २०१९ को सेप्टेम्बर ३० मा यो उपलब्धि हासिल भएको थियो। 

नेपालमा पूर्ण सरसफाइको अवधारणालाई सन् २००० देखि राष्ट्रिय सरसफाइ सप्ताहका रुपमा कार्यान्वयनमा ल्याइएको थियो। सन् २००३ मा समुदायको अगुवाइमा यो अभियान बढाइयो भने सन् २००६ मा विद्यालयको अगुवाइमा। सन् २००८ लाई संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय सरसफाइ वर्षका रुपमा घोषणा गरेपछि यसले व्यापक जनजागरण ल्यायो। 

सन् २०११ मा सरसफाइ गुरुयोजना नै बनाएर सरसफाइका सूचक र चरण निर्धारण गरियो। गुरुयोजनाअनुरुप आधारभूत स्तरको सरसफाइ सुनिश्चित गर्ने उद्देश्यले सन् २०१७ सम्म प्रत्येक घरमा चर्पी बनाउने अभियान सञ्चालन भयो। नेपाललाई २०१७ मा नै खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने लक्ष्य दुई वर्ष ढिला गरी २०१९ सेप्टेम्बर ३० मा हासिल हुन सक्यो।

आगामी चुनौती

दक्षिण एसियाकै पहिलो खुला दिसामुक्त राष्ट्र बनेर नेपालले शौचालय निर्माणमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको भए पनि पूर्ण सरसफाइको लक्ष्य हासिल गर्ने विषयमा अझै धेरै काम गर्न बाँकी रहेको उनले बताए। राष्ट्रसङ्घको खानेपानी तथा सरसफाइ हेर्ने निकाय ‘यूएन वाटर’ले सार्वजनिक गरेको विवरणअनुसार नेपालको ५१ प्रतिशत जनसङ्ख्याले मात्र सुरक्षित सरसफाइ सेवा उपयोग गर्ने गर्छन्। आउँदा सात वर्षमा झण्डै आधा जनसङ्ख्यालाई यस्तो सेवा पुर्‍याउन पर्ने अवस्था छ। नेपालका ६४ प्रतिशत जनसङ्ख्यामा साबुन पानीले हात धुने सुविधा प्राप्त छ। यसलाई पनि शतप्रतिशत पुर्‍याउनुपर्नेछ।

घरबाट निस्कने फोहर पानीको प्रशोधन तथा सही व्यवस्थापन ३९ प्रतिशतमात्र हुन सकेको छ। बाँकी ६१ प्र्रतिशत फोहर पानीको प्रशोधन र सही व्यवस्थापन गर्ने चुनौती बाँकी नै रहेको अध्यक्ष ई साहले जानकारी दिए। यसैगरी नेपालमा शहरीकरण तीव्र गतिमा बढेको छ तर त्यही गतिमा सहरी पूर्वाधार खास गरेर ढल र नालीका पानी बग्ने संरचना तथा तिनीहरुमा बग्ने फोहर पानीको प्रशोधन र उचित व्यवस्थापनको काम हुन पनि बाँकी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .