ad ad

समाज


भूकम्पमा परी मृत्यु भएका परिवारलाई नगद राहत वितरण सुरु

भूकम्पमा परी मृत्यु भएका परिवारलाई नगद राहत वितरण सुरु

नेपालखबर
कात्तिक २४, २०८० शुक्रबार २१:३७, काठमाडौँ

रुकुम पश्चिममा भूकम्पका कारण ज्यान गुमाएका मृतकका परिवारलाई आजदेखि नगद राहत वितरण सुरु गरिएको छ। सानीभेरी गाउँपालिका र आठविसकोट नगरपालिका–१४ मा राहत स्वरुप मृतकका परिवारलाई नगत हस्तान्तरण गरिएको हो। 

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी हरीप्रशाद पन्तले भूकम्पबाट ज्यान गुमाएका मृतकका परिवारलाई नगत हस्तान्तरण गरे। सानीभेरी गाउँपालिका–१ का छ जनाको परिवार, वडा नम्वर २ का एक जनाको परिवार र वडा नम्वर ४ का पाँच जना मृतकको परिवारलाई नगत वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बडुवालले जानकारी दिए।

सरकारले भूकम्पमा परी मृत्यु भएका परिवारलाई दुई लाख नगत राहत दिने निर्णय गरेको थियो। एउटा घरमा एक जनाको मात्र मृत्यु भएको अवस्थामा प्रतिमृतक दुई लाख नगद र एकभन्दा बढीको मृत्यु भएको अवस्थामा एक जनाको दुई लाख र थप मृतकको हकमा एक लाखका दरले रकम हस्तान्तरण गरिएका हो।

सानीभेरी गाउँपालिका र आठविसकोट–१४ मा भूकम्पबाट मृत्यु भएका परिवारलाई राहत रकम प्रदान गरेको जिल्ला विपत् व्यवस्थापन समितिले शनिबार आठबीसकोट नगरपालिकाका बाँकी वडामा राहत वितरण गर्नेछ। आठबीसकोटमा ४२ जनाको मृत्यु भएको छ। मृतकका नजिकका कानुनी हकवालालाई राहत वितरण गरिनेछ। 

मृतकका परिवारलाई नगद राहतका लागि सरकारबाट पाँच करोड बजेट जिल्ला विपत् व्यवस्थापन समितिमा आएको छ। त्यसबाट कति खर्च हुन्छ भन्ने यकीन नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

त्यस्तै सानीभेरी गाउँपालिकाले दिने भनेको किरिया खर्च पनि आजै हस्तान्तरण गरिएको छ। गाउँपालिकाले प्रतिमृतक २५ हजारका दरले परिवारलाई किरिया खर्च दिने भनिएकामा आज उक्त रकम हस्तन्तरण गरिएको हो।

जाजरकोटमा भने नगद राहत वितरणमा समय लाग्ने भएको छ। अहिले राहत वितरणमै ध्यान केन्द्रित भएकाले नगद राहत वितरणमा समय लाग्ने सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्माले बताए। 

मृतकका कानुनी हकवालाको पहिचान, मृत्यु दर्ता, प्रहरी मुचुल्कालगायत प्रक्रिया पूरा गर्न बाँकी भएकाले नगद राहतका लागि पीडितले अझै केही समय कुर्नुपर्ने उनको भनाइ छ। जिल्लामा एक सय एक जनाको मृत्यु भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .