समाज


जाजरकोट भूकम्पले १२ जिल्लाका ३५ हजार घरमा क्षति, कहाँ कति? (सूची)

जाजरकोट भूकम्पले १२ जिल्लाका ३५ हजार घरमा क्षति, कहाँ कति? (सूची)

यही कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पले जाजरकोटमा भत्किएको घर।


नेपालखबर
कात्तिक २१, २०८० मंगलबार १२:०, काठमाडौँ

जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट देशका विभिन्न स्थानमा गरी ३५ हजारभन्दा बढी घरमा क्षति भएको छ। 

सरकारले गरेको अध्यावधिक विवरणअनुसार भूकम्पले १७ हजार ७९२ वटा घर पूर्ण रूपमा र १७ हजार ५२९ घरमा आंशिक क्षति पुर्‍याएको हो। जसमा सबैभन्दा बढी रुकुम पश्चिममा १६ हजार ५७० घर पूर्ण रूपमा क्षति भएका छन् भने ९९६१ घरमा आंशिक क्षति पुगेको छ। 

जाजरकोटमा १ हजार १७० घर पूर्ण क्षतिग्रस्त छन् भने ७ हजार १६६ वटामा आंशिक क्षतिको लगत संकलन भएको छ।

यस्तै भूकम्पबाट सल्यानमा २५ वटा घर पूर्ण रूपमा क्षति भएका छन् भने ९७ घरमा आंशिक क्षति पुगेको छ। यसैगरी रोल्पामा १७ घर पूर्ण रूपमा भत्किएका छन् भने ८३ घरमा आंशिक क्षति पुगेको छ। 

भूकम्पले जुम्लामा पनि ५ घर पूर्ण रूपमा क्षति भएका छन् रुकुम पूर्वमा २ घर तथा दैलख, बैतडी र कालीकोटमा १/१ घर पूरै ध्वस्त भएका छन्। 

भूकम्पले रुकुम पूर्वमा १८२ घरमा आंशिक क्षति पुगेको तथ्यांकमा उल्लेख गरिएको छ। यस्तै प्युठानमा ३१, दाङमा ७ तथा दैलेख र नवलपरासी पूर्वमा १/१ घरमा भूकम्पले आंशिक क्षति पुगेको छ। 

जाजरकोट केन्द्रबिन्दु भएर यही कात्तिक १७ गते गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट भएका क्षतिको विवरण संकलन जारी रहेको सरकारले जनाएको छ। 

गृह मन्त्रालयअन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाका अनुसार भूकम्पबाट भएका क्षतिबारे प्रभावित जिल्लाहरूबाट विस्तृत विवरण आउने क्रम जारी छ। 

जसअनुसार भूकम्पमा परी अहिलेसम्म १५३ जनाको मृत्यु भएको पुष्टि भएको छ भने घाइतेको संख्या ३६३ पुगेको छ। 

भूकम्पका कारण सबैभन्दा बढी जाजरकोटमा १०१ जनाको मृत्यु भएको छ। यसपछि रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको मंगलबार बिहान सार्वजनिक तथ्यांकमा उल्लेख गरिएको छ। 

तथ्यांकअनुसार घाइते ३६३ मध्ये सबैभन्दा बढी रुकुम पश्चिममा २ सय जना छन् भने जाजरकोटमा १४५ जना घाइते भएका छन्। यस्तै भूकम्पमा परी जुम्लामा ६, दैलेख, बैतडी र प्युठानमा ३/३ जना, सल्यानमा २ जना तथा कालिकोट र रोल्पाका १/१ जना घाइते भएका छन्। 

हेर्नुहोस् अध्यावधिक सूची-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .