ad ad

समाज


इजरायलमा मारिएका गणेशकुमार नेपालीको शव नेपाल ल्याइयो

इजरायलमा मारिएका गणेशकुमार नेपालीको शव नेपाल ल्याइयो

फाइल तस्बिर


नेपालखबर
कात्तिक ९, २०८० बिहिबार १०:५, काठमाडौँ

इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका दस नेपाली विद्यार्थीमध्ये थप एक विद्यार्थीको शव आज नेपाल ल्याइएको छ।

नेपाल ल्याइएको शव बझाङ जयपृथ्वी–६ का गणेशकुमार नेपालीको रहेको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले जानकारी दिए।

उनका अनुसार फ्लाई दुबईको विमानमार्फत आज बिहान ७ बजे उहाँको  शव ल्याइएको हो।

इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका दस विद्यार्थीमध्ये हालसम्म पाँच जनाको शव नेपाल ल्याइएको, बाँकी पाँचजनाको शव ल्याउन सम्बद्ध नातेदारको डिएनए सङ्कलन गरी पठाइएको र अन्य शव पनि चाडै नेपाल ल्याइने उनले बताए।

हालसम्म नेपालीसहित दार्चुला मालिकार्जन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने तथा कैलाली बौनियाँ–३ का आशिष चौधरीको शव ल्याइसकिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

गत असोज २० गते हमास समूहको आक्रमणमा परी इजरायलमा दस नेपाली विद्यार्थीको मृत्यु भएको थियो।

सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रमा  ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत् उनीहरू इजरायल गएका थिए।

उक्त आक्रमणमा परी मृत्यु हुने अन्य विद्यार्थीमा धनुषा सापही–६ का आनन्द साह, सुनसरी मधुवन–१ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली–३ का राजन फुलारा, डोटी लामीखाल–८ का पदम थापा र सल्यान सारदा–३ का प्रवेश भण्डारी रहेका छन्।

सोही आक्रमणमा परी कञ्चनपुर भीमदत्त–३ का विपीन जोशी सम्पर्कविहीन रहेका छन्।

केही समय अघि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहितको टोलीले इजरायलमा फसेका दुई सय ५४ विद्यार्थीलाई उद्धार गरी नेपाल ल्याएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .