बडादसैँ (नवरात्र) को छैटौँ दिन आज (शुक्रबार) दसैँघरसहित पूजाकोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिएको छ।
योसँगै दसैँका मुख्य दिनहरू नजिकिँदै छन्। यसअन्तर्गत भोलि (शनिबार) फूलपाती (सप्तमी) हो। यसपछि क्रमशः अष्टमी, नवमी र दशमी (टीका) आउनेछन्।
यी दिनमा मौसमचाहिँ कस्तो होला? पानी पर्ला कि? हिमपात पो होला कि? पक्कै हामीलाई जिज्ञासा हुनसक्छ।
यही कुरालाई ध्यान दिँदै जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले ‘दसैँ विशेष मौसम बुलेटिन–१’ जारी गरेको छ।
शुक्रबार (आज) जारी बुलेटिनअनुसार अष्टमी (५ गते), नवमी (६ गते) र दशमी (७ गते) का दिनहरूमा सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही एक/दुई स्थानमा मेघगर्जन/चटयाङसहित हल्का वर्षाको सम्भावना देखिएको छ भने देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।
मौसमविद्का अनुसार एक/दुई स्थानमा वर्षाको सम्भावना हुनु भनेको पानी पर्ने सम्भावना निकै कम हुनु हो। अर्काे कुरा पानी परे पनि हल्का मात्रै वर्षा हुने भएकाले ठूलो समस्या पर्ने देखिँदैन। यी दिनमा हिउँ पर्ने सम्भावना भने देखाइएको छैन।
तर बुलेटिनमा अगाडि भनिएको छ, ‘साथै उक्त दिनहरूमा अधिकांश स्थानमा अधिकतम तथा न्यूनतम तापक्रम सरदरभन्दा थोरै घट्ने रहेको देखिन्छ।’
यसको अर्थ थोरै चिसो बढ्ने सम्भावना देखिन्छ।
मौसम महाशाखाले हरेक दिन ३ दिनसम्मको मौसम अनुमान गरी बुलेटिन जारी गर्नेछ। ती बुलेटिनअनुसार हरेक दिनको सम्भावित मौसमबारे जानकारी लिन महाशाखाले अनुरोध पनि गरेको छ।
हेर्नुहोस् विशेष बुलेटिन-

Shares

प्रतिक्रिया