नेपालमा पश्चिमी वायुको प्रभाव जारी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार राति पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
यस क्रममा राति देशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
मौसमविद्का अनुसार वर्षाको सम्भावना एक/दुई ठाउँमा मात्र हुनु भनेको पानी पर्ने सम्भावना कम हुनु हो।
मौसमी भाषाको अर्थ
यस्तै सम्बन्धित क्षेत्रको १० प्रतिशत भूभागमा मात्रै वर्षा हुनुलाई एक/दुई स्थान, १० देखि ३० प्रतिशत भूभागमा पानी पर्नुलाई थोरै स्थान, तोकिएको क्षेत्रको ३० देखि ५० प्रतिशत भूभागमा वर्षा हुनुलाई केही स्थान, ५० देखि ८० प्रतिशत भूभागमा पानी पर्नुलाई धेरै स्थान, ८० प्रतिशतभन्दा बढी भूभागमा वर्षा हुनुलाई अधिकांश स्थानमा वर्षा हुने भनेर बुझ्नुपर्ने मौसमविद् बताउँछन्।
यस्तै मौसम महाशाखाले दिउँसो भन्नाले खासमा दिनको अर्थमा प्रयोग गरेको छ। दिउँसो भनेको बिहान ६ बजेदेखि साँझ ६ बजेसम्मको समय बुझ्नुपर्ने मौसमविद् बताउँछन्। यस्तै राति भन्नाले साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको समयलाई बुझ्नुपर्ने मौसमविद्को भनाइ छ।
Shares

प्रतिक्रिया