हिमाली जिल्ला मनाङमा सुरुआती हिमपात भएको छ । गत वर्ष यो समयमा हिमपात भएको थिएन । जिल्लाका माथिल्लो क्षेत्रमा हिमपात भएको मनाङ ङिस्याङ गाउँपालिका–९ का वडाध्यक्ष चोल्पा गुरुङले जानकारी दिए।
‘विगतमा हिमपात नहुँदा किसानलाई सकस भएको थियो, यस वर्ष समयमा नै हिमपात सुरु भएको छ,’ अध्यक्ष गुरुङले भने। तिलिचो ताल क्षेत्र, थोराङ्ला भञ्ज्याङ, आइलेकलगायत माथिल्लो क्षेत्रमा हिमपात भएको हो।
हिमपात हुन सुरु भएपछि स्थनीयवासीमा खुसियाली छाएको छ। समयमा हिमपात हुँदा किसानलाई फाइदा पुग्ने स्थानीय बताउँछन्।
गत वर्ष हिमपात नहुँदा खेतीबालीलाई पानीको अभाव भएको थियो । यस वर्ष समयमा नै हिमपातको सुरुआत हुँदा उत्पादन बढ्ने अपेक्षा गरिएको छ । समयमा नै हिमपात भएपछि जमिनको तल्लो सतहसम्म पानीले भिज्ने र उत्पादन राम्रो हुने गुरुङले बताए।
‘पहिले पहिलेको तुलनामा अहिले हिमपात कम हुने गरेको छ, तर पनि समयमा परिदिए राम्रो हुने थियो, यस वर्ष उत्पादन राम्रो हुने आशा लिएका छौँ,’ उनले भने। यहाँ स्याउ, करु, जौ, फापर, आलुलगायतका बाली हिमपातको कारण सप्रिने गर्छ। रासस
69
Shares

प्रतिक्रिया