ad ad

समाज


समयमै सुरु भयो मनाङमा हिमपात, किसान खुसी

समयमै सुरु भयो मनाङमा हिमपात, किसान खुसी

फाइल तस्बिर


नेपालखबर
कात्तिक १, २०८० बुधबार ५:४०, मनाङ

हिमाली जिल्ला मनाङमा सुरुआती हिमपात भएको छ । गत वर्ष यो समयमा हिमपात भएको थिएन । जिल्लाका माथिल्लो क्षेत्रमा हिमपात भएको मनाङ ङिस्याङ गाउँपालिका–९ का वडाध्यक्ष चोल्पा गुरुङले जानकारी दिए। 

‘विगतमा हिमपात नहुँदा किसानलाई सकस भएको थियो, यस वर्ष समयमा नै हिमपात सुरु भएको छ,’ अध्यक्ष गुरुङले भने। तिलिचो ताल क्षेत्र, थोराङ्ला भञ्ज्याङ, आइलेकलगायत माथिल्लो क्षेत्रमा हिमपात भएको हो।

हिमपात हुन सुरु भएपछि स्थनीयवासीमा खुसियाली छाएको छ। समयमा हिमपात हुँदा किसानलाई फाइदा पुग्ने स्थानीय बताउँछन्। 
    

स्थानीय याङदुङ गुरुङले सयममा हिमपात हुँदा किसानमा खुसी छाएको बताए। ‘हिमपात नहुँदा पानीको अभावले उत्पादन कम हुन्छ, यहाँ हिउँकै भरमा खेतीपाती हुने भएकाले यो हिमपातले किसानलाई फाइदा हुन्छ,’ उनले भने।
    
हिमपात भएपछि याक, चौँरीलाई घाँस पनि राम्रोसँग पलाउने गुरुङले बताए। ‘हिमपातको सुरुआत भएकाले मङ्सिरको पहिलो सातादेखि खर्कबाट याक, चौँरी बेसी झार्ने बेला भएको छ,’ उनले भने, ‘हिमाली जिल्लाका मानिस त हिमपात भएपछि खुसी हुन्छन्।’
    
गत वर्ष हिमपात नहुँदा खेतीबालीलाई पानीको अभाव भएको थियो । यस वर्ष समयमा नै हिमपातको सुरुआत हुँदा उत्पादन बढ्ने अपेक्षा गरिएको छ । समयमा नै हिमपात भएपछि जमिनको तल्लो सतहसम्म पानीले भिज्ने र उत्पादन राम्रो हुने गुरुङले बताए। 
    
‘पहिले पहिलेको तुलनामा अहिले हिमपात कम हुने गरेको छ, तर पनि समयमा परिदिए राम्रो हुने थियो, यस वर्ष उत्पादन राम्रो हुने आशा लिएका छौँ,’ उनले भने। यहाँ स्याउ, करु, जौ, फापर, आलुलगायतका बाली हिमपातको कारण सप्रिने गर्छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .