समाज


मनसुन लम्बियो : धान नकाटौं, काटेको भए भित्र्याइहालौं

मनसुन लम्बियो : धान नकाटौं, काटेको भए भित्र्याइहालौं

फाइल तस्बिर


नेपालखबर
असोज १६, २०८० मंगलबार ६:२४, काठमाडौँ

जल तथा मौसम विज्ञान विभागले नेपालबाट मनसुन बाहिरिने दिन लम्बिएका कारण किसानलाई तत्काल धान नकाट्न र काटेको भए भित्र्याइहाल्न आग्रह गरेको छ।         

सामान्यतः अक्टोबर २ देखि मनसुन बाहिरिने गरेको भए पनि यसपालि अझै मनसुन सक्रिय देखिएको छ।

वरिष्ठ मौसमविद् वरूण पौडेल विभिन्न विश्लेषणका आधारमा आज मौसम बाहिरिने दिन अनुमान गरिए पनि यसपालि मनसुन केही दिन लम्बिएको बताए। मनसुन बाहिरिन अझै झन्डै एक साता लाग्नसक्ने अनुमान रहेको उनले जानकारी दिए।

यो बेलामा हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल भारतको विहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रसमेतको प्रभाव रहेको छ। त्यसैले बदली छ।

अबको केही दिन मौसम बदली हुने र ठाउँ(ठाउँमा वर्षासमेत हुने भएकाले यो बेलामा किसानले विशेष ख्याल गर्नुपर्ने पौडेलले बताए।

‘अहिले धानबाली भित्र्याउने बेला हो, काटेको धान छ भने भित्राइहालौं र काट्ने बेलाको धान छ भने नकाटौं। दुई(तीन दिन रहने यो प्रणालीले धान बिगार्छ, खुलेपछि मात्रै काटौं,’ उनले भने।

उनका अनुसार नेपालमा पश्चिमबाट मनसुन बाहिरिन्छ भने पूर्वबाट भित्रिन्छ। अहिले नेपालको कोशी, मधेश र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत छ। भारतको उडिसा, छत्तिसगढ, विहारलगायत क्षेत्रमा पनि मौसम बदली छ। आज देशभर जसो नै बादल लाग्ने र धुम्म हुन्छ। घाम लाग्ने सम्भावना कम छ। साँझपख कतिपय ठाउँमा वर्षा पनि हुने पौडेलले बताए।

जल तथा मौसम विज्ञान विभागले दुई वर्षअघि मनसुन भित्रिने समय जुन १३ र बाहिरिने समय आज अक्टोबर २ लाई अनुमान गरेको थियो। त्यसअघि भित्रिने समय जुन १० र बाहिरिने समय सेप्टेम्बर २३ थियो। हरेक १० वर्षको विष्लेषण गरेर यसरी मिति अनुमान गर्ने गरिन्छ। पछिल्लो समयमा तोकेको मितिभन्दा ढिला गरी मनसुन बाहिरिरहेको छ। मनसुन भित्रिन पनि ढिला गरिरहेको छ। यही साल पनि मनसुन एक दिन ढिला गरी भित्रिएको थियो भने बाहिरिन पनि समय लाग्ने देखिएको छ।

यो वर्ष नेपालमा जनु १४ अर्थात् जेठ ३१ मा मनसुन भित्रिएको थियो। तर त्यसको नौ दिनपछि मात्रै असार ८ गते मनसुन देशैभरी फैलिएको थियो। सुरूमा कोशी प्रदेश, मधेश र गण्डकी प्रदेशको पूर्वी भू(भाग र बागमती प्रदेशका अधिकांश भू(भागमा मनसुन आगमन भएको थियो। यसपालि मनसुनको सुरूआती समयमै पूर्वी नेपालमा भारी भारी वर्षापछिको बाढी र पहिरोले वितण्डा मच्चाउँदा ठूलो धनजनको क्षति भएको छ।

यसपाली १२ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान थियो। मनसुनका समयमा औषतभन्दा कम पानी पर्ने आकलनसमेत गरिएको थियो। औषतभन्दा कम पानी पर्ने अनुमानका बीच केही स्थान केन्द्रित भएर मनसुनी वर्षा हुँदा भने पूर्वी र पश्चिम नेपालललगायत केही स्थानमा भने ठूलो जनधनको क्षति गराएको छ। 

जल तथा मौसम विज्ञान विभागले विगत १० वर्षको मनसुनी प्रणाली विष्लेषण गरेर केही वर्षअघि निकालेको निष्कर्षका आधारमा सामान्यतः मौसम बाहिरिने दिन आजलाई अनुमान गरेको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad