काठमडौं उपत्यकामा सवारी अनुशासन उल्लंघन र तीव्र गति सवारी दुर्घटनाको मुख्य कारण रहेको ट्राफिक प्रहरीले जनाएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले गरेको सवारी दुर्घटनाको विश्लेषण गर्दा अधिकांश दुर्घटना तीव्र गति, ट्राफिक संकेत वा इशाराको उल्लंघन गर्दा हुने गरेका पाइएको हो।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले त्यसका अलावा मादक पदार्थ तथा लागूपदार्थ सेवन गरी सवारी साधन चलाउनेजस्ता चालकको लापरबाही पनि पनि दुर्घटनाको कारण भएका बताए।
ट्राफिक प्रहरीको ‘तीव्र गति, जीवन क्षति’ भन्ने नारा नै छ। तर, अहिले अवस्था पनि त्यस्तै भइरहेको छ।
यस्तै सडक र सवारी साधनको खराब अवस्था, सवारीको यान्त्रिक गडबडी र सडक प्रयोगकर्तामा ट्राफिक नियमको पर्याप्त ज्ञानको अभावमा पनि दुर्घटना बढिरहेका भट्टले बताए। ‘तर मुख्य कारण भनेको तीव्र गति र सडक नियम उल्लंघन नै हो,’ उनले भने।
दुर्घटना न्युनिकरणको लागि मुख्य गरी जनचेतना जगाउनुपर्ने आवश्यकतामा ट्राफिक प्रहरीको जोड छ।
अहिले उपत्यकामा ट्राफिक सप्ताहमार्फत सचेतना अभियान थालिएको भट्टले बताए। ‘यो क्रमलाई सप्ताहका रूपमा मात्रै सीमित नगरी नियमित गरिने छ,’ उनले भने।
पछिल्लो पाँच वर्षमा देशभर झण्डै १३ हजार मानिसको गाडी दुर्घटबाट मृत्यु भएको छ। हजारौँ घाइते भएका छन् । गत एक वर्षमा मात्रै देशमा झण्डै तीन हजारले दुर्घटनाबाट ज्यान गुमाएका छन् । सवारी साधनको सङ्ख्यामा आएको वृद्धिसँगै दुर्घटना पनि बढीरहेको प्रहरीको दाबी छ।
त्यसैले चालक, परिचालक, पैदलयात्री, विद्यार्थी र समग्रमा सडक प्रयोगकर्ता लक्षित ट्राफिक सचेतनालाई अभियानका रूपमा अघि बढाउनुपर्ने प्रहरीको निष्कर्ष छ । यसमा स्थानीय तहको भूमिका महत्त्वपूर्ण हुने बताइएको छ।
जसबाट सडक अनुशासन कायम राख्न र सडक प्रयोगकर्तालाई जिम्मेवारी बोध गराउन महत्त्वपूर्ण भूमिका खेल्न सक्ने केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक कुवेर कडायत बताउँछन्। सचेतना अभियान देशभरी सञ्चालन गर्न जरुरी रहेको उनले बताए। रासस
Shares
प्रतिक्रिया