बाराको नेपाल भारत सीमा क्षेत्र नजिकै फेरि अर्का युवकको हत्या भएको छ।
बाराको पचरौता नगरपालिका ६ पकडीयामा मंगलबार साँझ २२ वर्षीय युवकको गोली हानी हत्या भएको प्रहरीले जनाएको छ। मारिने युवक भारतीय नागरिक हुन्।
उनलाई भारतबाट दुईवटा मोटरसाइकलमा सँगै आएका युवाहरूको समूहले गोली हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
हत्या भएका युवक भारत दारपा थानाअन्तर्गत सुकलैयाका २२ वर्षीय अजितकुमार सिंह भएका प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
गएको आइतबार पनि पचरौताको नेपाल भारत सीमा नजिकै एक नेपाली युवकको हत्या भएको थियो।
पचरौता नगरपालिका–१ पचरौता गाउँको दशगजा नजिकै आइतबार मध्यराति धारिलो हतियार प्रहार गरी हत्या गरेर फालिएको अवस्थामा पूर्व सशस्त्र प्रहरी जवान ३४ वर्षीय अमरेशकुमार सिंहको शव फोला परेको थियो।
त्यसको ३५ घण्टा नबित्दै पचरौतामै फेरि अर्का युवकको हत्या भएको इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक रवि भूषण यादवले जानकारी दिए।
यादवका अनुसार हत्या गरिएका युवकसँगै आएका ५ जनाको समूहले कन्चट र घाँटीमा गोली हानी २२ वर्षीय युवकको हत्या गरेका हुन्। हत्यापछि उक्त समूह फेरि भारततर्फ भागेको स्थानीयले बताएका छन् ।
घटनास्थलमा तालिमप्राप्त कुकुरकोसमेत सहायता लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सीमा क्षेत्रमा लगातार हत्याका घटना हुन थालेपछि स्थानीय त्रसित बनेका छन्। प्रहरीले हत्यामा संलग्न कसैलाई पनि पक्राउ गर्न सकेको छैन।
Shares

प्रतिक्रिया