समाज


मलंगवामा कर्फ्यु उल्लंघन गर्ने ३५ जना हिरासतमा, छुरा हान्ने २ विरुद्ध मुद्दा दर्ता

मलंगवामा कर्फ्यु उल्लंघन गर्ने ३५ जना हिरासतमा, छुरा हान्ने २ विरुद्ध मुद्दा दर्ता

फाइल तस्बिर


नेपालखबर
असोज ९, २०८० मंगलबार १०:३२, सर्लाही

स्थानीय प्रशासनले कर्फ्यु हटाएपछि सर्लाही सदरमुकाम मलंगवाको अवस्था क्रमशः शान्त बन्दै गएको छ। 

गएको बिहीबार रातिदेखि मलंगवामा जारी गरिएको कर्फ्यु हिजो (सोमबार) बिहानबाट आंशिक रुपमा हटाइएको छ।

दिनभरको लागि कर्फ्यु हटाए पनि रातिको लागि भने अनिश्चितकालीन कर्फ्यु कायमै रहेको स्थानीय प्रशासनले जनाएको छ। 

सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले हरेक दिन रातको ८ बजेदेखि बिहान ४ बजेसम्मको कर्फ्यु भने अनिश्चित कालका लागि जारी रहेको जानकारी दिए। 

कर्फ्यु हटाएपछि सोमबार मलंगवामा पसल र यातायात आंशिक रुपमा खुलेका थिए। आज (मंगलबार) बिहानबाट मलंगवामा चहलपहल अझ बढेको छ। 

‘यता चहलपहल बढ्न थालेको छ। हिजोदेखि कुनै अवाञ्चित गतिविधि भएका छैनन्,’ सीडीओ यादवले नेपालखबरसँग भने, ‘शान्ति सुरक्षाको अवस्था सुदृढ बनाउने ढंगले हामी थप सर्वपक्षीय पहल र प्रयत्न गरिरहेका छौँ।’ 

कर्फ्यु उल्लंघन गर्ने ३५ विरुद्ध मुद्दा दर्ता, छुरा हानेको आरोपमा २ पक्राउ

मलंगवामा जारी भएको कर्फ्यु आदेशको उल्लंघन गरेको आरोपमा पक्राउ परेका ३५ जनाविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अघि बढाएको छ। 

मलंगवाका विभिन्न ठाउँबाट पक्राउ परेका ४२ जनामध्ये ३५ जना अहिले पनि जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा छन्। उनीहरुविरुद्ध मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अघि बढाइएको डीएसपी दीपेन्द्र पन्जियारले जानकारी दिए। 

पक्राउ परेका सात जनालाई भने प्रहरीले रिहा गरेको छ। 

‘कर्फ्यु उल्लंघन गरेको आरोपमा पक्राउ परेका दुई महिला र पाँच जना किशोरलाई रिहा गरेका छौँ,’ डीएसपी पञ्जियारले नेपालखबरसँग भने, ‘बाँकी ३५ जना पुरुष हाम्रो हिरासतमा छन्। उनीहले कर्फ्यु आदेशको उल्लंघन गरेकाले पक्राउ गरेका हौँ। उनीहरुलाई जिल्ला प्रशासन कार्यालयले कारबाही गर्नेछ।’

त्यसैगरी बिहीबार राति कर्फ्यु आदेश जारी गर्नुअघि छुरा प्रहार गरेर एक युवकलाई गम्भीर घाइते बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ परेको छ। 

बिहीबार राति मलंगवा- ७ का रुपेश यादवमाथि छुरा प्रहार भएको थियो। घटनामा गम्भीर घाइते भएका यादवको हाल वीरगञ्जमा उपचार भइरहेको छ। 

‘उनीमाथि छुरा प्रहार भएको घटना अनुसन्धानको क्रममा दुई जना पक्राउ परेका छन्,’ डीएसपी पञ्जियारले भने, ‘उनीहरुलाई छुट्टै ढंगले कानुनी कारबाहीको लागि हामीले अदालतमा मुद्दा दर्ता गरेका छौँ।’

यहि असोज ११ गते बिहीबार मुस्लिम धर्माबलम्बीको पर्व मोहम्मद डे परेको छ। मोहम्मद डेको दिनलाई लक्षित गरेर मलंगवामा थप सुरक्षा सतर्कता बढाइएको सीडीओ यादवले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .