समाज


सर्लाहीमा फेरि मूर्ति विसर्जनमा विवाद, प्रहरीको गाडी र गाउँपालिका कार्यालयमा तोडफोड

सर्लाहीमा फेरि मूर्ति विसर्जनमा विवाद, प्रहरीको गाडी र गाउँपालिका कार्यालयमा तोडफोड

फाइल तस्बिर


नेपालखबर
असोज ३, २०८० बुधबार १३:५२, सर्लाही

सर्लाहीको ब्रम्हपुरी गाउँपालिकामा विश्वकर्माको मुर्ति सेलाउने विषयमा विवाद उत्पन्न भएको छ। 

त्यस क्रममा केही व्यक्तिले ब्रम्हपुरी गाउँपालिका कार्यालयमा तोडफोड गर्नुको साथै सशस्त्र प्रहरीको गाडीमा ढुंगामुढा गरेका छन्।

ढुंगामुढा प्रहारबाट गाउँपालिका कार्यालय र प्रहरीको गाडीको क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपेन्द्र पञ्जियारले जानकारी दिए। 

मंगलबार दिउँसो विश्वकर्माको मुर्ति सेलाउने जाने रुटको विषयमा विवाद हुँदा केही अराजक समूहले अवस्था विगार्ने प्रयास गरेका प्रहरीले जनाएको छ। 

‘केही व्यक्तिले विश्वकर्माको मूर्ति सेलाउन जाने रुट नजिकैको मुस्लिम बस्तीलाई बनाउन खोजेका थिए,’ डीएसपी पञ्जियारले नेपालखबरसँग भने, ‘प्रहरीले त्यसलाई रोक्न खोजेपछि उनीहरुले प्रहरीको गाडी र गाउँपालिका कार्यालयमा ढुंगामुढा गरेका हुन्।’

उनले ढुंगामुढा प्रहारबाट कोही घाइते नभएको र गाउँपालिका कार्यालयमा पनि झ्यालका सिसाहरु फुट्नु बाहेक ठूलो क्षति नभएको बताए।  

घटनामा संलग्न कसैलाई पनि पक्राउ नगरिएको प्रहरीले जनाएको छ। 

दुई साताअघि सर्लाही सदरमुकाम मलंगवामा कृष्ण जन्माष्टमीको मुर्ति सेलाउने क्रममा केही उच्छृंखल समूहले हिन्दु मुस्लिम बीचको साम्प्रदायिक सद्भाव विथोल्ने प्रयास गरेका थिए। 

त्यतिबेला तीन दिनसम्म मलंगवा अशान्त बनेको थियो। पछि हिन्दु र मुस्लिम समुदायका अगुवा, स्थानीय प्रशासन, विभिन्न राजनीतिक दलका नेता र जनप्रतिनिधिहरुको प्रयासले मलंगवाको अवस्था सामान्य बनेको थियो। 

सर्लाहीमा हिन्दु सम्राट नेपालको नाममा विगत केही समययता नियोजित रुपमा साम्प्रदायिक सद्भाव विथोल्ने प्रयास हुँदै आएको छ। 

मलंगवामा मंगलबार विश्वकर्माको मुर्ति विसर्जन गर्ने क्रममा हुन सक्ने सम्भावित झडपलाई ध्यान दिँदै स्थानीय प्रशासनले कडा सुरक्षा अपनाएको थियो। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad