ad ad

समाज


राख्ने ठाउँ अभाव भएपछि चितवनबाट एउटा वयस्क बाघ बर्दिया पठाइयो

राख्ने ठाउँ अभाव भएपछि चितवनबाट एउटा वयस्क बाघ बर्दिया पठाइयो

फाइल तस्बिर


नेपालखबर
भदौ २८, २०८० बिहिबार १०:३, चितवन

चितवन राष्ट्रिय निकुञ्जमा बाघ राख्ने ठाउँ अभाव भएको छ। निकुञ्जमा नियन्त्रणमा लिइएको बाघ ठाउँ अभाव भएपछि बाघ बर्दिया पठाइएको छ। 

केही दिनअघि नवलपरासीको अमलटारी क्षेत्रमा नियन्त्रणमा लिइएका दुईवटा बाघमध्ये एउटालाई बुधबार साँझ बर्दिया पठाइएको हो।
 
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार नवलपरासीको अमलटारी क्षेत्रमा बस्तीमा बाघ आउन थालेपछि नियन्त्रणमा लिइएको हो। 

एउटा बच्चा बस्तीमा आएर बस्न थालेको थियो भने अर्को बाघले गाईभैँसी खान थालेपछि स्थानीयको आग्रहमा नियन्त्रणमा लिइएको हो।
 
मङ्गलबार नियन्त्रणमा लिएर कसरा ल्याइएको थियो। अन्दाजी १० वर्षको भाले बाघलाई बुधबार साँझ बर्दिया पठाइएको निकुञ्ज प्रशासनले जनाएको छ। यो बाघ केही समय यता बस्ती छिरेर घरपालुवा जनावर खाँदै आएको थियो।
 

अर्को अन्दाजी सात महिनाको पोथी बाघलाई कसरामा रहेको काठको खोरमा राखिएको छ। कच्ची भएकाले ठूलो बाघ राख्न खोर उपयुक्त छैन। सानो भएकाले तत्कालका लागि सो खोरमा राखिएको उनले जानकारी दिए।
 
यो बाघ केही समयदेखि नवलपरासीको अमलटारीस्थित बस्ती क्षेत्रमा आएर बस्ने गरेको थियो। 

हाल कसरामा सानोसहित चार बाघ छन्। तीमध्ये एउटा चार वर्षअघि बाँकेमा हिंस्रक बनेर मान्छेको सिकार गर्न थालेपछि नियन्त्रणमा लिएर यहाँ ल्याइएको हो। सो भाले बाघ अन्दाजी १० वर्षको छ। 

गत वर्ष चितवनकै माडीमा  आक्रमण गरी मान्छे मारेपछि अन्दाजी १३ वर्षको पोथी बाघ नियन्त्रणमा लिएर खोरमा राखिएको छ। अर्को देवनगरबाट तीन वर्षअघि ल्याइएको अन्दाजी १० वर्षको भाले बाघ रहेको छ।
 
तीनवटै बाघलाई कसरामा पक्की खोरमा राखिएको छ। सौराहामा खोरमा दुई बाघ रहेका छन्। तीमध्ये एउटा गत साउनमा खैरहनीबाट नियन्त्रणमा लिएर खोरमा राखिएको छ। उक्त भाले बाघ अन्दाजी चार वर्षको हो । अर्को गत वर्ष मेघौलीबाट ल्याइएको अन्दाजी १० वर्षको भाले बाघ रहेको छ।
 
तिवारीले अहिले चितवनमा छ बाघ खोरमा रहेको बताउनुभयो । निकुञ्जको वरिपरि बस्ती भएकाले जुनसुकै बेला थप बाघ नियन्त्रणमा लिनुपर्ने अवस्था आउने भए पनि ठाउँको अभाव छ। 

पछिल्लो समय भरतपुर भ्रमण वर्ष पारेर निकुञ्ज नजिकै देवनगरमा खुला खोर निर्माण गरी सर्वसाधारणले हेर्न मिल्ने गरी बाघ राख्ने तयारी गरिएको छ। 

तिवारीले सर्वसाधारणका लागि खुला गर्नसके बाघबाट आर्थिक उपार्जन गरी उनीहरुको पालनपोषण गर्नसकेमा आर्थिक भार नपर्ने उनले बताए । सन् २०२४ साललाई भरतपुर भ्रमण वर्षको रुपमा मनाउन लागिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .