समाज


अमेरिका बसेर मानव तस्करीमा रुकुमका हस्त गौतम, आधार क्षेत्र मेक्सिको

अमेरिका पठाउने क्रममा गरेका थिए २ करोड बढी ठगी
अमेरिका बसेर मानव तस्करीमा रुकुमका हस्त गौतम, आधार क्षेत्र मेक्सिको

तस्करीका मुख्य योजनाकार (नाइके) हस्त गौतम।


नेपालखबर
भदौ २३, २०८० शनिबार १५:२७, काठमाडौँ

पश्चिम नेपालको रुकुम घर भई हाल अमेरिकी नागरिकता लिएका एक व्यक्तिले विभिन्न मुलुकमा एजेन्ट परिचालन गरी  नेपालीलाई बेचबिखन गरेको पाइएको छ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले गरेको अनुसन्धानमा त्यसरी तस्करीका मुख्य योजनाकार (नाइके) अमेरिकाको टेक्सास बस्ने अमेरिकी नागरिक ५२ वर्षीय हस्त गौतमले अहिलेसम्म दुई सय जनालाई अमेरिका पठाइसकेका खुलेको छ।

यसरी अमेरिका पठाउने क्रममा गौतमले दुई करोडभन्दा बढी ठगी गरेको पाइएको ब्यूरोका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिए। 

उनको सुरुआती घर भने पश्चिम नेपालको रूकुमस्थित सिस्ने गाउँपालिकाको नाथीगाड हो। गौतमका सहयोगी कमल तामाङसहितका तीन जनाविरुद्ध भने यसअघि नै पाँच मुद्दा दर्ता गरी ब्यूरोले अनुसन्धान थालिसकेको छ।

उनले आफ्नो आधार क्षेत्र मेक्सिको बनाई पाँच जना एजेन्टलाई नेपालसहित युनाइटेड अरब इमिरेट्स (युएई), सिङ्गापुर, फिलिपिन्स, थाइल्याण्ड, श्रीलङ्का, कोलम्बिया, ल्याटिन अमेरिकालगायत क्षेत्रमा परिचालन गरी मानव तस्करी गर्ने गरेको पाइएको छ।

उनीहरूबाट पीडित बनेका चार जनाको उद्धार गरिएको छ भने अझै दुई जनाको उद्धार गर्न बाँकी रहेको प्रहरी नायब उपरीक्षक विष्टले बताए। 

‘बाँकी १३ नेपालीलाई विभिन्न देश पठाउने भनी अलपत्र पारेको उजुरी परेको छ’, उनले भने। 

उनले अमेरिका पठाउने भनी भ्रमण राहदानीको समेत दुरुपयोग गरेको पाइएको छ। गौतमले नेपाली नागरिकलाई विभिन्न देशमा पुर्‍याई राहदानी, मोबाइलसमेत जफत गरी ठूलो मात्रामा पैसा माग गर्ने गरेका थिए। 

एजेन्टले भने जति पैसा नदिए शारीरिक तथा मानसिक यातना दिने, थप पैसा माग्ने, विदेशमा रहेका एजेन्टलाई बेचबिखन गर्ने, बुझाउनेजस्ता क्रियाकलाप गरी नेपाली नागरिकलाई अलपत्र पार्ने गरेको पाइएको छ।

गौतममाथि मानव बेचबिखन, ओसारपसार तथा सङ्गठित अपराध मुद्दामा अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .