ad ad

समाज


देशभर विभिन्न स्थानमा वर्षाको सम्भावना, तराईमा हावाहुरी आउने अनुमान

देशभर विभिन्न स्थानमा वर्षाको सम्भावना, तराईमा हावाहुरी आउने अनुमान

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
भदौ २१, २०८० बिहिबार ७:१९, काठमाडौँ

आज (बिहीबार) देशभर मौसम बदली तथा विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूवानुमान महाशाखाले जनाएको छ। 

महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार यतिबेला (बिहीबार बिहान) देशभर मौसम आंशिकदेखि सामान्यसम्म बदली भएको छ। बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ। 

मौसम महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो  देशभर मौसम आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने छ। साथै मधेश र कोशी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना पनि छ।

यस्तै राति पनि देशभर मौसम आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। कोशी, गण्डकी  र कर्णाली प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

काठमाडौंमा पनि वर्षाको सम्भावना
आज काठमाडौं उपत्यकामा पनि वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। 

मौसमविद् मानन्धरका अनुसार दिउँसोपछि काठमाडौंमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना देखिएको हो। 

महाशाखाले आगामी २४ घण्टा (शुक्रबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ। 

जसमा भनिएको छ– कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै मधेश प्रदेश र कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा हावाहुरीको सम्भावना छ। वर्षाका कारण उक्त क्षेत्रबाट बहने नदीको जलसतह हल्का बढ्नसक्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोप हुनसक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुनसक्ने असुविधा, जोखिमलगायत चट्याङ तथा हावाहुरीको क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

मौसमी भाषाको अर्थ

मौसमविद्का अनुसार मौसम सफा भनेको पूरै आकाश छ्याङ हुनु, मुख्यतया सफा भनेको २५ प्रतिशत आकाशमा बादल, आंशिक बदली भनेको २६ देखि ५० प्रतिशतसम्म आकाश बादलले ढाक्नु, साधारणतया बदली भनेको ५१ प्रतिशतदेखि ७५ प्रतिशतसम्म आकाशमा बादल, अधिकांश बदली भनेको ७६ देखि ८८ प्रतिशतसम्म आकाश बादलले ढाक्नु र पूर्ण बदली भनेको ७६ प्रतिशतदेखि ८८ प्रतिशतसम्म आकाशमा बादल हुनु हो। 

मौसमविद्का अनुसार १० मिलिमिटरभन्दा कम पानी पर्नुलाई हल्का वर्षा, १० मिलिमिटरदेखि माथि ५० मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई मध्यम वर्षा तथा ५० भन्दा माथि सय मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई भारी वर्षा भनिन्छ। यस्तै सय मिलिमिटरभन्दा माथि र दुई सयभन्दा मुनि मिलिमिटर पानी पर्नुलाई धेरै भारी वर्षा भनिन्छ। अनि २ सय मिलिमिटरदेखि माथि पानी पर्नुलाई अति भारी वर्षा भनिन्छ। 

यस्तै सम्बन्धित क्षेत्रको १० प्रतिशत भूभागमा मात्रै वर्षा हुनुलाई एक/दुई स्थान, १० देखि ३० प्रतिशत भूभागमा पानी पर्नुलाई थोरै स्थान, तोकिएको क्षेत्रको ३० देखि ५० प्रतिशत भूभागमा वर्षा हुनुलाई केही स्थान, ५० देखि ८० प्रतिशत भूभागमा पानी पर्नुलाई धेरै स्थान, ८० प्रतिशतभन्दा बढी भूभागमा वर्षा हुनुलाई अधिकांश स्थानमा वर्षा हुने भनेर बुझ्नुपर्ने मौसमविद् बताउँछन्।

यस्तै मौसम महाशाखाले दिउँसो भन्नाले खासमा दिनको अर्थमा प्रयोग गरेको छ। दिउँसो भनेको बिहान ६ बजेदेखि साँझ ६ बजेसम्मको समय बुझ्नुपर्ने मौसमविद् बताउँछन्। यस्तै राति भन्नाले साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको समयलाई बुझ्नुपर्ने मौसमविद्को भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .