ad ad

समाज


रातो मच्छिन्द्रनाथ मन्दिर पुनःनिर्माणको काम अझै सकिएन

रातो मच्छिन्द्रनाथ मन्दिर पुनःनिर्माणको काम अझै सकिएन

नेपालखबर
भदौ २०, २०८० बुधबार २१:०, काठमाडौँ

वर्षा र सहकालका रुपमा प्रख्यात रातो मच्छिन्द्रनाथ मन्दिरको पुनःनिर्माण कार्य सुरु भएको छ वर्ष बितिसक्दा सम्पन्न भएको छैन। 

ललितपुर उपमहानगरपालिका–२२ बागमतीमा रहेको ऐतिहासिक रातो मच्छिन्द्रनाथको मन्दिरलाई विसं २०७२ को भूकम्पले ढालेको थियो। 

मच्छिन्द्रनाथ मन्दिरसँगै रहेका मनकामना माई मन्दिर र भैरवनाथ मन्दिर पुनःनिर्माण भइसकेका छन्। तर, ऐतिहासिक र प्रख्यात रातो मच्छिन्द्रनाथको मन्दिर भूकम्पले क्षति पुर्‍याएको आठ वर्ष बितिसक्दा पनि पुनःनिर्माण पूरा भएको छैन। 

श्रीलङ्कन दूतावासको सहयोगमा राष्ट्रिय पुनःनिर्माण विभागले विसं २०७४ मा मन्दिर पुनःनिर्माणको काम प्रेरा भेगिम तुल्सी जेभी निर्माण कम्पनीले दुई वर्षमा मन्दिर पुनःनिर्माण सक्ने गरी ठेक्का दिएको मच्छिन्द्रनाथ पुजारीसङ्घका अध्यक्ष यज्ञरत्न शाक्य बताउँछन्। ‘मन्दिरको काम सुरु भएर मन्दिर एकतलासम्म निर्माण भएको थियो। मन्दिर निर्माण गर्दा प्राविधिक त्रुटि देखिएपछि फेरि भत्काएर सुरुदेखि निर्माण गर्नुपर्‍यो,’ उनले भने।

मन्दिरको पुनःनिर्माण कार्यको जिम्मा लिएको कम्पनीले बीचमै काम छोडेपछि विसं २०७६ पुस १४ गते श्री रातो मच्छिद्रनाथ मन्दिर पुनःनिर्माण उपभोक्ता समितिले जिम्मा लिएको थियो।

सम्झौताअनुसार उपभोक्ता समितिले विसं २०८० जेठ ३० गते काम सम्पन्न गर्नुपर्ने हो तर मन्दिर निर्माणको काम अझै अस्तव्यस्त छ। 

रातो मच्छिन्द्रनाथ मन्दिरको पुनःनिर्माण तथा संरक्षण कार्यको बाँकी काम पूरा गर्ने उद्देश्यले तीन करोड आठ लाख आठ हजार नौ सय लागतमा मन्दिर निर्माण गर्ने सम्झौता भएको छ। सम्झौता मितिमा काम सकिनुपर्ने तर हाल मन्दिर निर्माणको कामसमेत रोकिएको छ।

मन्दिर निर्माणका लागि प्रयोग गरिएको दाजी इँटाको अभाव भएको मच्छिन्द्रनाथ पुजारी सङ्घका अध्यक्ष यज्ञरत्न शाक्य बताउँछन्।

सहकालका देवताका रूपमा मच्छिन्द्रनाथ रथ जात्रालाई उपत्यकाकै पृथक र ऐतिहासिक महत्त्व बोकेको जात्राका रुपमा लिइन्छ। मच्छिन्द्रनाथ मन्दिर पाटन र बुङ्गमतिमा एक एक वटा रहेको छ।

मच्छिन्द्रनाथ पुजारी सङ्घका अध्यक्ष यज्ञरत्न शाक्यका अनुसार यो मन्दिर अत्यन्तै पुरानो मन्दिर हो। ‘मन्दिर स्थानपनाबारे कुनै शिलाखेल नभएको र हामीले सुनेअनुसार यो मन्दिर १४ सय वर्ष पहिले बनेको रहेछ। धेरै पुरानो तर बीचमा मर्मतसम्भार नभएकाले भूकम्पमा भत्किएको हो,’ उनले भने।

बुङ्गमतीको रातो मच्छिन्द्रनाथ मन्दिरबाट १२ वर्षमा एकपटक रातो मच्छिन्द्रनाथको रथ तयार गरी पाटनमा घुमाएर पुनःरथलाई बुङ्गमतीमै पुर्‍याउने प्रचलन छ।

पुजारी सङ्घका अध्यक्ष यज्ञरत्न शाक्य भन्छन्, ‘विसं २०८४ मा १२ वर्ष पुग्ने भएकाले मन्दिर पनि त्यही समयमा निर्माण हुन्छ जस्तो छ। काम गर्नेले निरन्तर काम गर्नुपर्ने हो तर गरिरहेका छैनन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .