समाज


अन्धोपन निवारणका लागि सरोकारवाला निकायलाई मन्त्री आचार्यको आह्वान

अन्धोपन निवारणका लागि सरोकारवाला निकायलाई मन्त्री आचार्यको आह्वान

नेपालखबर
भदौ १९, २०८० मंगलबार ८:४, काठमाडौँ

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले देशभर अन्धोपन निवारणका लागि सरोकारवाला सबै निकायलाई आह्वान गरेका छन्। नेपाल नेत्रज्योति संघ र दातृ निकाय सीबीएम ग्लोबलबीच  सहकार्यको ४० वर्ष पूरा भएको अवसरमा सोमबार आयोजित कार्यक्रममा मन्त्री आचार्यले सरकारले आँखा स्वास्थ्य रणनीतिको सफल कार्यान्वयनका लागि सरकारसँगै सेवा प्रदायक संस्था र दातृ निकायबीच सहकार्य हुने विश्वास व्यक्त गरे। 

उनले यी दुई संस्थाको सहकार्य हुदाँका बखत ०.८४ प्रतिशत रहेको नेपालको अन्धोपनाको अवस्था अहिले घटेर ०.२८ प्रतिशतमा झरेको स्मरण गर्दै अन्धोपन निवारणका लागि सरकारले सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाए। 

‘सन् २०३० मा नेपालबाट उपचार पछि निको हुने अन्धोपन निवारण गर्ने नेपाल सरकारको योजनालाई तपाई हामी  सबैको सहकार्यले सफल हुने विश्वास पनि मैले लिएको छु’, उनले भने, ‘आगामी दिनहरूमा सरकारका तर्फबाट हुनसक्ने सहयोग र सहकार्यका लागि मैले आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्न चाहन्छु।’

उनले आँखा उपचारमार्फत स्वास्थ्य पर्यटन विकाससँगै वैदेशिक मुद्रासमेत आर्जन भइरहेको बताए।

‘केही वर्ष अघिसम्म पनि नेपालबाट आँखा उपचारका लागि भारत लगायतका देशमा जानुपर्ने हाम्रो बाध्यता थियो ’उनले भने, ‘ तर नेपाल नेत्रज्योति संघ जस्ता सामाजिक संस्थाको प्रयास र मेहनतले वार्षिक लाखौँ भारतीय नागरिक नेपालमा आएर उपचार गराइरहनुभएको छ। यो नेपालका लागि गर्वको कुरा हो।’

चालीस वर्षको सहकार्यमा एक करोड २० लाखभन्दा बढी जनालाई आँखा उपचार सेवा उपलब्ध गराएको नेपाल नेत्र ज्योति सङ्घका अध्यक्ष डा चेतराज पन्तले जानकारी दिए। उनका अनुसार सङ्घबाट २० लाखभन्दा बढी बिरामीको आँखाको शल्यक्रिया सम्पन्न भएको छ। 

सन् १९८२ सालमा नेत्रज्योति संघको आग्रहमा सीबीएमबीच औपचारिक सहकार्यको प्रारम्भ भएको थियो। सङ्घले अहिले देशभरमा २७ वटा आँखा अस्पताल, १५० वटा आँखा उपचार केन्द्र तथा ४४ वटा जिल्ला शाखामार्फत आँखा उपचार सेवा प्रवाह गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad