ad ad

समाज


सातसय रोपनी क्षेत्रफलमा लगाएको मकै हावाहुरीले नष्ट

सातसय रोपनी क्षेत्रफलमा लगाएको मकै हावाहुरीले नष्ट

नेपालखबर
भदौ १८, २०८० सोमबार ८:१९, बागलुङ

हावाहुरी र वर्षाले बागलुङका विभिन्न स्थानमा लगाएको मकै बालीमा क्षति पुर्‍याएको छ। घोगा लाग्ने बेला भएको मकैमा हावाहुरीले व्यापक क्षति गरेको किसानले बताएका छन्।

बागलुङको तमानखोलाका किसानले सयौँ रोपनी क्षेत्रफलमा लगाएको मकै बाली हावाहुरीले नष्ट गरेको छ। 

वडा नम्बर १ र २ को सेन्नामा, पहिरा, बोङ्गानी, सोम्मरलगायतको गाउँमा करिब सात सय रोपनी क्षेत्रफलमा लगाएको मकै पूर्ण रुपमा नष्ट भएको तमानखोला गाउँपालिकाका कृषि शाखा प्रमुख सन्देश पराजुलीले जानकारी दिए। शनिबार राति र आइतबार बिहान आएको हुरीले मकै बालीमा क्षति पुगेको हो।

सात सय रोपनीमा लगाएको मकै कामै नलाग्ने गरी ढलेपछि किसानको ५० लाखभन्दा बढीको क्षति भएको छ। किसानले हावाहुरीले मकै नष्ट गरेको जानकारी गराएपछि गाउँपालिका अध्यक्ष जोकलाल बुढा मगर, उपाध्यक्ष हिराकुमारी छन्त्याल र प्राविधिकको टोली बारीमै पुगेर क्षतिको विवरण संकलन गरेको छ। 

मकै ब्लकमा समेत हुरीले ठूलो क्षति पु¥याएको पराजुलीले बताए। दाना लाग्ने बेलामा मकै ढलेको कारण अब मकै नफन्ने पराजुलीले बताए। 

‘किसानको बारीमा पुग्दा कुनै पनि मकैका बोट ठाडो देखिँदैनन्, सबै ढलेर कामै नलाग्ने भएका छन्, अब ती ढलेका मकैका बोटबाट किसानले एउटा गेँडा पनि उत्पादन गर्न सक्ने अवस्था छैन। दाना हालिसकेको भए, केही उत्पादन हुने सम्भावना हुन्थ्यो। शाखा प्रमुख पराजुलीले भने, ‘अहिले प्रारम्भिक विवरण लिएका छौँ। प्रारम्भिक विवरणमा करिब ५० लाख नोक्सानी भएको अनुमान छ।’

अहिलेसम्म यहाँका किसानले कृषि बीमा गरेका छैनन्। बीमा गरेको भए केही सहुलियत मिल्ने पराजुलीले बताए। यस वर्षदेखि किसानलाई कृषि बीमाको दायरामा ल्याउने तयारी छ। यहाँका अधिकांश किसानले रैथाने जातका मकै लगाउने गरेका छन्।

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले यस क्षेत्रमा हावाहुरीले अहिलेसम्मकै ठूलो क्षति पुर्‍याएको बताए। किसानले जानकारी गराएपछि बारीमै पुगेर क्षतिका बारेमा बुझेको भन्दै पीडित बनेका किसानलाई पालिकाबाट राहतको व्यवस्था गर्ने अध्यक्ष बुढा मगरले आश्वासन दिए। 

सबै वडामा प्राविधिक खटाएर सबै क्षतिको विवरण ल्याएर सोहीअनुसार राहतका बारेमा प्रदेश र केन्द्र सरकारसँग पनि माग गर्ने उनले बताए।

‘हावाहुरीले किसानले लगाएको मकै बालीमा ठूलो क्षति पुगेको छ, फल्ने बेलाको मकै ढलेर सोत्तर बनेपछि किसानका आँखा आँसुले भरिएका छन्, उहाँहरुको त्यो पीडामा मलम लगाउने प्रयास हामी गर्ने छौँ’, अध्यक्ष बुढा मगरले भने, ‘अहिले सामान्य विवरण आएको छ, सबै विवरण आएपछि कुन किसनाको कति क्षति भएको छ, त्यस आधारमा पालिकाबाट हुने राहतको व्यवस्था गर्छौं र अन्य नियकाबाट हुने सहयोगका बारेमा पनि हामी पहल गर्छौं।’

वर्षा र हावाहुरीले मकैका सबै बोट भाँचिएपछि भोकमरी हुने भन्दै किसान चिन्तित बनेका छन्। जिल्लाको मुख्य खाद्य बालीको रुपमा रहेको मकैमा क्षति पुगेपछि मकैको उत्पादन घट्ने अनुमान गरिएको छ। हरेक वर्ष मकै बालीमा विभिन्न कारणले क्षति हुँदै आएको छ। 

तमानखोलाको मकै जोन क्षेत्र भए पनि अघिल्लो वर्ष मकैको बीउ फरक पर्दा उत्पादनमा निकै गिरावट आएको थियो । यसपालिको हुरीले वर्षभरिको छाक खोसी दिएको स्थानीय किसान खिमबहादुर छन्त्यालले बताए। 

‘पोहोरपरार साल बारीमा राम्रो मकै उत्पादन हुन्थ्यो र पनि वर्षभरि खान पुग्दैनथ्यो, अहिले त एक पाथी पनि फल्न नपाउँदै हुरीले मकै बारी भरी लडाइँ दियो, एउटा पनि बारीको मकै ठाडो छैन, सबै ढलेका छन्,’ उनलेभ ने, ‘कति दुःख गरेर खेती गरेका थियौँ। एकै छिनको हावाहुरीले सोतर बनाइदियो, अब के खाएर वर्ष गुर्जाने हो?’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .