समाज


पर्सामा टाउको र शरीर अलग गरिएको अवस्थामा युवतीको शव फेला, दुईदिन बित्दा पनि सनाखत हुन सकेन

पर्सामा टाउको र शरीर अलग गरिएको अवस्थामा युवतीको शव फेला, दुईदिन बित्दा पनि सनाखत हुन सकेन

नेपालखबर
भदौ १४, २०८० बिहिबार १२:४६, पर्सा

पर्सामा हत्या भएको अवस्थामा एक युवतीको शव फेला परेको छ। 

शरीर र टाउको अलग गरिएको अवस्थामा दुई दिनअघि नै फेला परेको करिब २० वर्षीया युवतीको शवको अझै सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। 

जिराभवानी गाउँपालिका ४ स्थित वीरगञ्ज ठोरी हुलाकी सडकखण्डमा पर्ने स्मृति खोलामा मंगलबार साँझ टाउको काटिएको अवस्थामा युवतीको शव फेला परेको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए। 

शव भेटिएको ठाउँ एकान्त जंगल क्षेत्रमा पर्छ। शव भेटिएको ठाउँभन्दा केही पर प्रहरीले शवको टाउको पनि फेला पारेको थियो। 

‘शव र घटनास्थलको प्रकृति हेर्दा धारिलो हतियार प्रयोग गरेर युवतीको हत्या भएको देखिन्छ,’ एसपी शाहले नेपालखबरसँग भने, ‘सडिसकेको अवस्थामा फेला परेको कारण शवको सनाखतको लागि समस्या भइरहेको छ।’

शव पोष्टमार्टमको लागि टिचिङ अस्पताल काठमाडौं पठाइने एसपी शाहले बताए। ‘यहाँ पोष्टमार्टको लागि राम्रो प्रविधि नभएको कारण टिचिङ अस्पताल पठाउने तयारी हुँदैछ,’ एसपी शाहले भने।

खोलामा टाउकोबिनाको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले सुरुमा टाउको बिनाको शव फेला पारेको थियो। पछि खोजी गर्ने क्रममा शव भेटिएको केही पर टाउको पनि फेला परेको थियो।

हाल शव पोष्टमार्टमको लागि नारायणी अस्पतालको शव गृहमा राखिएको छ। 

शव पहिचान भएपछि मात्रै घटनाको अनुसन्धान गर्न सहज हुने भएकाले कोही युवती हराइरहेका भए शवसँग हुलिया मिल्ने युवतीका आफन्तलाई सम्पर्कमा आउन प्रहरीले अनुरोध गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad