ad ad

समाज


हर्क साम्पाङलाई अदालतको झट्का, अधिकारी दम्पतीलाई धरपकड नगर्न आदेश

हर्क साम्पाङलाई अदालतको झट्का, अधिकारी दम्पतीलाई धरपकड नगर्न आदेश

नेपालखबर
भदौ ७, २०८० बिहिबार २१:५४, काठमाडौँ

धरान उपमहानगरपालिकास्थित सर्दु जलाधार क्षेत्रको जग्गालाई लिएर उच्च अदालत विराटनगरले त्यहाँका मेयर हर्क साम्पाङलाई फेरि सचेत गराएको छ।

रोजिना अधिकारीको नाममा रहेको धरानस्थित बाँझगराको ९९ (ग) कित्ता नम्बर ४२१ र ३४५ को जग्गाबारे मेयर साम्पाङसँग उत्पन्न विवादमा अदालतले नयाँ आदेश दिएको हो।

उच्च अदालतले उक्त प्रकरणमा अधिकारीलाई धरपकड नगर्न र थुनामा नराख्न उच्च अदालत विराटनगरले जिल्ला प्रशासन कार्यालय सुनसरी र विपक्षीहरूको नाममा अन्तरिम निषेधाज्ञा जारी गरेको हो। 

गत साउन ५ गते सर्दु जलाधार क्षेत्रको जग्गा भन्दै मेयर साम्पाङले एक हुल समर्थकसहित अधिकारीको जग्गामा वृक्षारोपण गरेपछि रोजिनाले दायर गरेको रिटमा उच्च अदालतले साउन ११ गते अनधिकृत प्रवेश नगर्न र वृक्षारोपण रोक्न आदेश दिएको थियो।

तर उक्त आदेशको अटेर गर्दै मेयर साम्पाङ यही शनिबार फेरि त्यही जग्गामा हुलसहित प्रवेश गरेपछि रोजिना र उनका पति रोशन अधिकारीसँग विवादको अवस्था आएको थियो।

तर अदालतको आदेशविपरीत उक्त जग्ममा पसेका साम्पाङले अधिकारी दम्पतिले आफूलाई दुर्व्यवहार गरेको भन्दै प्रहरीमा जाहेरी दिएका थिए। उनले दुवैजनालाई पक्राउ गरी कारबाही गर्न उजुरी गरेपछि अदालतबाट यस्तो आदेश आएको हो।

मेयर साम्पाङले आफूहरुविरुद्ध उजुरी दिएपछि रोजिनाले दिएको सम्भावित धरपकड, थुनामा राख्ने कारबाहीविरुद्धको रिटमा उच्च अदालतका न्यायाधीश दिनेशप्रसाद यादवको इजलासले बिहीबार निषेधाज्ञा जारी गरेको हो।

‘प्रस्तुत निवेदनको अन्तिम टुङ्गो नलागेसम्मलाई कानुन बमोजिमबाहेक निवेदकलाई थुनामा नराख्नु, धरपकड नगर्नु नगराउनु’, अदालतले भनेको छ, ‘सो जग्गामा प्रवेश नगर्नु नगराउनु भनी उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम विपक्षीहरूका नाउँमा अन्तरिम आदेश जारी गरिएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .