ad ad

समाज


एमाले उपमहासचिव विष्णु रिमाललाई सधैँ तर्साउने नागपञ्चमी

एमाले उपमहासचिव विष्णु रिमाललाई सधैँ तर्साउने नागपञ्चमी

नेपालखबर
भदौ ४, २०८० सोमबार १३:०, काठमाडौँ

आज नागपञ्चमी, परम्पराअनुसार नागको पूजा अर्चना गर्दै घरका मूलढोकामा नागका तस्बिर टाँसेर मनाइएको छ। तर नेकपा एमालेका उपमहासचिव विष्णु रिमाललाई हरेक वर्ष मनाइने नागपञ्चमीले झस्काउँछ। 

उनका अनुसार उनकी आमाको निधन नागपञ्चमीकै दिन भएको थियो। 

‘मृत आमाको अनुहार सुमसुम्याएँ’, एमाले उपमहासचिव रिमालले सामाजिक सञ्जालमा त्यो पीडादायी क्षणको स्मरण गर्दै लेखेका छन्, ‘त्यस दिन तिथिले नागपञ्चमीको दिन थियो। आज त्यस घटना घटेको ३६१ महिना बित्यो। त्यस घटना सम्झनासाथ मनलाई झस्काउँछ, घटनाभन्दा बढी त आमाको याद आउँछ।’ 

यस्तो छ रिमालको पूरा कुरा-

सधैँ तर्साउने नागपञ्चमी!
२०५० साउन ८ गते। आमासँग भेट नभएको लामै समय भएको थियो। चार दिनअघि मात्र जननेता मदन भण्डारीको हत्याको विरोधमा लगातार ३ दिने आमहडताल फिर्ता लिइएपछि त्यसदिन म आमालाई भेट्न घर जाँदै थिएँ। त्यसबेला अहिलेजस्तो मोबाइल थिएन। ल्यान्डलाइन फोन पनि सीमित घरमा मात्र थिए। त्यसै दिन बिहान आमालाई फोन गरेँ र भनेँ– म आज आउँदैछु है ।त्रिशूली- चामल, दाल र आँपको लागि प्रख्यात् ठाँउ हो, पहिले फालाफाल पाइने यी चिज अहिले पाइन्न ।  छोरो सानै थियो। फोनमा आमाले नातिका लागि त्यस्तै सामान तयार गरेकी छु भन्दै हुनुहुन्थ्यो। 

त्रिशूली जाने सडक ज्यादै खराब थियो। अहिले २/३ घण्टा लाग्ने त्रिशूली बजार पुग्न कम्तीमा ४ देखि साढे ४ घण्टा लाग्थ्यो। त्यसदिन दिउँसो २ बजेतिर म त्रिशूली बजार पुगेँ। त्रिशूली जाँदा मेरो पहिलो रोकिने स्टेसन  दिदीको होटल हुन्थ्यो, त्रिशूली जलविद्युतको पावर हाउसको सामुन्नेको। अहिले त्यो घर छैन, भूकम्पले सम्म बनाइदियो। 

बसबाट ओर्लनासाथ मैले भाइ रमेशलाई रुँदै आएको देखेँ। सोधेँ- के भयो, कहाँ जान लागेको, किन रोएको? उसको जवाफबाट म अवाक् भएँ। बिहान मात्रै फोनमा कुरा गरेको मेरी आमा बित्नुभएछ, आमाको आकस्मिक निधन भएकोले ऊ त कात्रो किन्न पो अएको रहेछ...!!!

घर पुग्दा आमाको मृत शरीर तुलसीको मठ अघि सुताइएको थियो। रुवाबासी चलिरहेको थियो। मेरी आमा सामाजिक काममा भिज्नु भएकोले गाँउभरि नै लोकप्रिय हुनुहुन्थ्यो। अन्तिम श्रद्धाञ्जली दिन आउने गाउँभरिका शुभेच्छुकहरूको भीड थियो।  मैले आफन्तहरूलाई हेरेँ, लडिबुडी गर्दै रोइरहेकी सानी बहिनीलाई हेरेँ र जबर्जस्ती आफ्नो मनलाई सम्हाली सबैलाई नरुन भनेँ। लासको छेउमै झोक्राइरहनुभएको पिताजीलाई हेरेँ, उहाँको पीडा ‘फिल’ गर्ने प्रयास गरेँ। मृत आमाको अनुहार सुमसुम्याएँ... 

त्यस दिन तिथिले नागपञ्चमीको दिन थियो। आज त्यस घटना घटेको ३६१ महिना बित्यो। त्यस घटना सम्झनासाथ मनलाई झस्काउँछ, घटनाभन्दा बढी त आमाको याद आउँछ। 

भावपूर्ण श्रद्धाञ्जली आमा! हाम्री आमा, सधैँ हाम्रो सम्झनामा!

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .