सोमबारदेखि वर्षा हुने क्रम केही कम भएको छ। आज (मंगलबार) पनि सबै प्रदेशमा पानी पर्ने सम्भावना रहे पनि भारी वर्षाको सम्भावना भने देखिएको छैन।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
आज काठमाडौं उपत्यकामा पनि दिउँसो वा साँझपख हल्का वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिएका छन्।
यस्तै राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मात्र हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।
महाशाखाले आगामी २४ घण्टा (बुधबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
जसमा भनिएको छ– कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यसका कारण नदीको जलसतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोप हुनसक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुनसक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
‘तीन दिन ठूलो वर्षाको सम्भावना छैन’
पानी पार्ने प्रणाली कमजोर भइसकेकाले ३ दिन अर्थात् बिहीबारसम्म त्यस्तो झरी वा ठूलो वर्षाको सम्भावना नरहेको महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिए।
‘तर मनसुन हो, पानी त पर्छ, खासगरी बेलुकीपख’, उनले भने, ‘तर जुन ठूलो सिस्टम (वर्षा गराउने) थियो, त्यो तलतिर सिफ्ट भएको छ, अब ३ दिनलाई त्यस्तो ठूलो वर्षाको सम्भावना देखिन्न।’
मौसमी भाषाको अर्थ
मौसमविद्का अनुसार १० मिलिमिटरभन्दा कम पानी पर्नुलाई हल्का वर्षा, १० मिलिमिटरदेखि माथि ५० मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई मध्यम वर्षा तथा ५० भन्दा माथि सय मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई भारी वर्षा भनिन्छ। यस्तै सय मिलिमिटरभन्दा माथि र दुई सयभन्दा मुनि मिलिमिटर पानी पर्नुलाई धेरै भारी वर्षा भनिन्छ। अनि २ सय मिलिमिटरदेखि माथि पानी पर्नुलाई अति भारी वर्षा भनिन्छ।
यस्तै सम्बन्धित क्षेत्रको १० प्रतिशत भूभागमा मात्रै वर्षा हुनुलाई एक/दुई स्थान, १० देखि ३० प्रतिशत भूभागमा पानी पर्नुलाई थोरै स्थान, तोकिएको क्षेत्रको ३० देखि ५० प्रतिशत भूभागमा वर्षा हुनुलाई केही स्थान, ५० देखि ८० प्रतिशत भूभागमा पानी पर्नुलाई धेरै स्थान, ८० प्रतिशतभन्दा बढी भूभागमा वर्षा हुनुलाई अधिकांश स्थानमा वर्षा हुने भनेर बुझ्नुपर्ने मौसमविद् बताउँछन्।
यस्तै मौसम महाशाखाले दिउँसो भन्नाले खासमा दिनको अर्थमा प्रयोग गरेको छ। दिउँसो भनेको बिहान ६ बजेदेखि साँझ ६ बजेसम्मको समय बुझ्नुपर्ने मौसमविद् बताउँछन्। यस्तै राति भन्नाले साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको समयलाई बुझ्नुपर्ने मौसमविद्को भनाइ छ।
Shares

प्रतिक्रिया