ad ad

समाज


सीआईबी र मेडिकल काउन्सिलको गम्भीर लापरबाही : नक्कली भन्दै सक्कली डाक्टर ४ दिन हिरासतमा

सुन प्रकरणमा पनि तीन जनालाई एकरात थुनेर छाडियो
सीआईबी र मेडिकल काउन्सिलको गम्भीर लापरबाही : नक्कली भन्दै सक्कली डाक्टर ४ दिन हिरासतमा

नक्कली भन्दै सीआईबीले पक्राउ गरेका सक्कली डा. रञ्जितकुमार यादव


नेपालखबर
साउन २८, २०८० आइतबार २२:२, काठमाडौँ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र नेपाल मेडिकल काउन्सिलले लापरबाही गर्दा एक डाक्टर ४ दिन हिरासतमा बस्नु परेको छ। गत बिहीबार नक्कली प्रमाण पत्रको आरोपमा पक्राउ परेका महोत्तरीको पिपरा ८ का डा. रञ्जितकुमार यादव सक्कली डाक्टर नै भएको पुष्टि भएको हो। 

उनले आफ्ना सक्कली कागजात नै सीआईबीमा पेस गरेका हुन्। आफूलाई पक्राउ गरेर म्याद थप समेत गरेपछि यादवले सक्कली प्रमाण पत्र पेस गरेको प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले बताए। शुक्रबार उनीहरूलाई हिरासतमा राख्न ५ दिन जिल्ला अदालत काठमाडौंले म्याद दिएको थियो। 

तर रञ्जितकुमार यादव सक्कली डाक्टर भएको प्रमाण मेडिकल काउन्सिलले उपलब्ध गराएपछि छाड्ने तयारी गरेको डीआईजी कडायतले बताए। आइतबार साँझ डाक्टर यादवको बयान समेत गराइएको छ।

सीआईबीले सक्कली रहेको प्रमाण पत्र पेस गरेपछि उनलाई छाड्न हतार हततार बयान गराएको हो। 

डा. यादवलाई रिहा गर्न जिल्ला सरकारी वकिल कार्यालयले निर्देशन समेत दिइसकेको छ। तर नेपाल मेडिकल काउन्सिलबाट पत्र आउन बाँकी रहेकाले अहिलेसम्म नछाडिएको सीआईबी स्रोतले नेपालखबरलाई जानकारी दियो। 

‘उहाँ सक्कली भइसकेपछि छाड्न हामीलाई समस्या होइन। प्रक्रिया पूरा गरेर छाड्ने नै हो। तर काउन्सिलबाट पत्र आउनु पर्नेमा आइसकेको छैन। अन्य प्रक्रिया पूरा भइसकेको छ’, अनुसन्धानमा रहेका सीआईबीका ती अधिकृतले आइतबार साँझ भने। 

कडायतका अनुसार रञ्जित नामका दुई जना डाक्टर भएको र एक जना नक्कली डाक्टर र एक जना सक्कली डाक्टर हुन्। तर प्रहरीले नक्कली नभई नाम एउटै हुँदा सक्कलीलाई पक्राउ गरेको खुलेको हो। 

‘अदालतबाट म्याद थप भइसकेकाले प्रक्रिया पूरा गरेर जिम्मा लगाउनु पर्यो। अहिले त्यसैको प्रक्रिया भइरहेको छ। सक्कली भन्ने पुष्टि भइसकेपछि हिरासतमा राख्न मिलेन, मेडिकल काउन्सिलले पहिले उपलब्ध गराएको विवरणका कारण एउटा मान्छे पक्राउ गर्नु पर्नेमा अर्कै पर्यो’, प्रवक्ता कडायतले भने, ‘अब थाहा भइसकेपछि थुन्न मिल्दैन।’

नक्कली भनिएका व्यक्ति बंगलादेशमा र सक्कलीले जनकपुरमा पढेका हुन्। सीआईबीले गत बिहीबार र शुक्रबार गरी ८ जना डाक्टरलाई पक्राउ गरेको थियो। तर ती मध्ये सांसद समेत रहेका डा. सुनिल कुमार शर्मालाई अदालतले रिहा गर्न आदेश दिएको छ। अदालतको आदेश लगत्तै शुक्रबार डा. शर्मा रिहा भइसकेका छन्। 

उनलाई रिहा गर्ने आदेशमा पनि अदालतले सीआईबीको अनुसन्धानमा प्रश्न उठाएको छ। शर्माको प्रमाण पत्रको बारेमा एक वर्ष पहिले नै जानकारी पाएको र दर्ता समेत भइसकेको अवस्थामा एक वर्ष पछि मात्रै पक्राउ गरिएको भन्दै अदालतले सीआईबीको अनुसन्धानमा प्रश्न उठाएको छ। 

सीआईबीले उनलाई हिरासतमा राख्न माग गरेपनि अदालतले अनुमति नदिएको हो। सोही प्रकरण अर्का डाक्टर भने नक्कली भनेर सक्कलीलाई नै पक्राउ गरेको खुलेको हो। 

सुन प्रकरणमा पनि तीन जनालाई एकरात थुनेर छाडियो
यसअघि सय किलो सुन प्रकरणमा पनि सीआईबीले दुई चिनियाँ नागरिकलाई एक दिन थुनेर छाडेको छ। राजस्व अनुसन्धान विभागले कालो सूचीमा राखेका दुई चिनियाँ नागरिकलाई अध्यागमन विभाग र विमानस्थल प्रहरीले पक्राउ गरेर शुक्रबार सीआईबीलाई बुझाएका थिए। 

चीन फर्किन लागेका चिनियाँ नागरिक ली जियाइलियन र लिउ फुयानलाई रिहा गरिएको थियो। 

दुवै जनाको संलग्नता नदेखिएका कारण रिहा गरिएको प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले बताए। सुरुमा पक्राउ गरेको प्रहरीले पछि संलग्नता नदेखिएको भन्दै छाडेको थियो। 

निर्दोषलाई थुनेर यसमा पनि सीआईबीले कच्चा अनुसन्धान देखायो। त्यसोत सुन प्रकरणमा सीआईबीको दोहोरो भूमिका समेत देखिएको छ। 

शुक्रबार बिहान दुई चिनियाँलाई बुझेको सीआईबीले दिउँसो अध्यागमनबाटै पक्राउ परेका व्यापारी रोहन अदुकियालाई भने बुझ्न मानेन। उनलाई भने राजस्व अनुसन्धान विभागकै जिम्मा लगाउनु भनेपछि विमानस्थल प्रहरीले राजश्वमा पुर्‍याएको थियो।

तर राजस्वले सुन प्रकरणको फायल र अभियुक्त प्रहरीलाई बुझाइसकेकाले अहिले यस विषयमा आफूले अनुसन्धान नगर्ने भन्दै फिर्ता पठाइदियो। त्यसपछि पनि सीआईबीले बुझ्न मानेन। 

त्यसरात पनि रोहनलाई थुनिएको थियो। भोलिपल्ट ११ बजे मात्रै रोहनलाई छाडिएको थियो। 

राजस्वले नै कालो सूचीमा राख्न भनेका दुई चिनियाँलाई बुझेको सीआईबीले पछि अदुकियालाई बुझ्न नमानेपछि राजश्वले सीआईबीसँग असन्तुष्टि पोखेको छ। 

सुन प्रकरणमा सीआईबीले १७ जनालाई पक्राउ गरेर बुझाएको थियो। तर सीआईबीले त्यसपछि एक जनालाई पनि पक्राउ गर्न सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .