राष्ट्रिय आविष्कार केन्द्रका संयोजक महावीर पुनले लिलाम बिक्रीका लागि राखेका पदकहरू सरकारलाई फिर्ता दिने भएका छन्।
वीरगन्जस्थित आविष्कार केन्द्रको कृषि औजार कारखानाका लागि खर्च जुटाउन भन्दै उनले दई मेडलसहित अन्तर्राष्ट्रिय मेडल समेत लिलाम बिक्रीमा राखेका थिए। सो बारे गृह मन्त्रालयले पुनलाई बोलाएर बेच्न नपाइनेबारे सजग गराएको सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै उनले कानुन अनुसार चल्ने बताएका छन्।
‘गृह मन्त्रालयले कति छिटो थाहा पाएर मलाइ सिंहदरबारमा बोलाइ हाल्यो र कानुन पढेर सुनायो। अनि पो थाहा भयो मैले त कानुन उलंघन गरेको रहेछु,’ पुनले भनेका छन्, ‘कानुन मिच्नेलाई ठोक्नु पर्छ भन्ने कुरामा मेरो पूर्ण सहमत छ। त्यसैले त्यो कानुन मैले मान्नु पर्छ र मान्छु। अब त्यो मेडल बेच्न नपाउने भयो। बरु कानुनमा उल्लेख गरे अनुसार ती पदकहरू गृह मन्त्रालयलाई नै फिर्ता जानेछ।’
साथै, उनले अन्य अन्तर्राष्ट्रिय मेडलहरू बेच्न भने कुनै रोकटोक नभएको भन्दै बिक्री गरिने पनि बताएका छन्।
Shares
प्रतिक्रिया