बिहानीको मिर्मिरे घाम भूमिमा नपर्दै कानसम्म आइपुग्छ लयबद्ध रुपमा उच्चारित केही संस्कृत शब्दहरु। कक्षाकोठाबाट आएको आवाजसँगै सुन्दै अघि बढ्नुभयो भने भने आँगनैमा भेटिन्छ चार वेद, धर्मचक्र र ३३ कोटि देवताको संकेत जनाउ दिने शिलाहरु। थोरै अगाडि जन्मदेखि मृत्युसम्मका कर्म जनाउने चित्र भित्ताभरि देखिन्छ। भित्ता छिचोलेर पुगिने कक्षाकोठामा ५० बटुक छन् जो हरेक दिन झुल्के घामसँगै वैदिक शिक्षा लिइरहेका भेटिन्छन्।
शब्दहरुसँगै हातको इसाराले बालकहरु एकोहोरो मन्त्र उच्चारण गरिरहेको हुन्छन्। १० वर्षका देखि १६ वर्षसम्मका ती बालकहरु धोती/कमिज र हातमा वेदको किताब लिएर हरेक दिन उसैगरि पढिरहेका भेटिन्छन्।
तपाईंले यो दृश्य र यो आवाज पूर्वपश्चिम राजमार्ग हुँदै नवलपुरको दुम्कौली पुग्दै गर्दा बाटैमा भेट्न सक्नुहुन्छ। सम्मुखमा खजुरवान शैलीमा बनाइएकोे शाश्वत धामको भव्य मन्दिर, अगाडि फाँटिलो हरियो पार्क र चौतारीहरु। यी सबै वैदिक कर्मकाण्ड गुरुकुल अगाडिका दृश्य हुन्।
मन्दिरको आडैमा वेद पढिरहेका बटुकको आवाजले मन्दिरलाई गुन्जयमान बनाइरहेको हुन्छ। आवाजसँग मन्त्रमुग्ध हुँदै मन्दिर आउने भक्तालु सुरुमा विद्यालयमा भने जाँदैनन्। अर्थात् भक्तालुलाई सुरुमै स्वागत गर्छ दसद्वारले। यहाँ नअलमलिने भक्तजन सायदै हुँदैनन्।
कलात्मक शैलीमा निर्माण गरिएको यो द्वारले सुरुमै जो कोहीलाई आकर्षित गर्न सक्छ। दसद्वारमा केहीबेर अलमलिँदै मन्दिरतिर जाँदैगर्दा मन्दिरको आडैमा वेद उच्चारणको आवाजसँगै अर्जुनले हाँकिरहेको रथ देखिन्छ। महादेवको मन्दिरमा तपाईंले महादेवलाई मात्रै भेट्नुहुनेछैन यहाँ। शाश्वत धामको विशेषता नै यही हो, यहाँ अन्य धर्मलाई पनि समेटिएको छ।
भक्तालुहरुले यहीँ वेद शिला र मूर्ति हेर्न पाउँछन् भने यहीँ कृष्णलीला, अर्जुनको रथका कथाहरु भेटिन्छन्। त्यति मात्र होइन, बुद्ध, जैन धर्मावलम्बीहरुका देवताहरु पनि भेटिन्छन्। योसँगै शिख धर्मको मन्दिर समेत निर्माणाधीन अवस्थामा छ।
यी चारवटै धर्म एकआपससँग जोडिएकै कारण शाश्वत धामलाई यी सबै धर्मको संयोजन मान्छन् व्यवस्थापक अशोक घर्ती पनि।
‘बुद्धलाई हिन्दुधर्ममा विष्णुका नवौँ अवतार मानिन्छ, यस्तै जैन र शिख धर्ममा पनि हिन्दुधर्मका केही देवीदेवताको पूजा गर्ने चलन छ। चार वटै धर्म सनातनसँग जोडिएकाले हामीले एकैठाउँमा चार प्रकारका मन्दिर स्थापना गरेका हौँ,’ उनले भने।
मन्दिर परिसरमा फाँटिला पार्कसँगै नक्षत्र बाटिका, वेद बाटिका, समुद्र मन्थन बाटिका, कृष्णलीला, अर्जुनपथ, बुढानीलकण्ठ, नवग्रह लगायतका छुट्टाछुट्टै बाटिकाहरु छन्।
आठ बिघा क्षेत्रफलमा फैलिएको शाश्वत धाममा हिन्दु, बौद्ध धर्मको संग्रहालय पनि छन्। मन्दिर व्यवस्थापक घर्ती पूजा गर्न आउने भक्तालुहरुलाई किन र कसरी पूजा गरिन्छ भन्ने प्रश्नको उत्तर पनि बुझाएर पठाउने उदेश्य रहेको बताउँछन्।
यसका लागि शास्वत मन्दिर व्यवस्थापन समितिले तीन वटा संग्रहालय निर्माण गरेको छ। सनातन धर्मको बारेमा बुझाउन मन्दिरको गर्भमा नेपाल र भारतका विभिन्न पवित्रस्थलबाट संकलन गरिएका शिला, माटो र जल, सहित पुरातात्विक वस्तु संग्रह गरिएको छ भने बहुमूल्य मानिने एक मुखे रुद्राक्षदेखि विशेष प्रकारका धातुबाट निर्मित शंखहरु राखिएका छन्।
योसँगै संग्रहालयमा सनातम धर्मका बारेमा जानकारी लिखत भेटिन्छ भने त्यसै अनुसारको श्रव्यदृश्य सामग्री पनि भक्तालुहरुले अवलोकन गर्न पाउने छन्। यस मन्दिरमा भारतको सबैभन्दा ठूलो मानिने राजस्थानको रानी सती दादी मन्दिरको ज्योतिलाई जागृत गरिएको छ।
बागमती, गंगा लगायतका पवित्र नदी र धामको जल मिसाइएको कुण्ड स्थापित धाममा शिवलिंग सहित मन्दिरभित्रै १६ वटा देवी र देवताका मूर्ति स्थापित गरिएको छ। पवित्र धामहरुको एकत्रित रुपमा पनि धामलाई लिने गरिन्छ।
निशुल्क बैद्धिक शिक्षा
शाश्वत धाम मार्फत सञ्चालित वैदिक कर्मकाण्ड गुरुकुल विद्यार्थीका लागि पूर्णत निशुल्क हो। कक्षा ५ पास गरेका बालकलाई विद्यालयले वैदिक ज्ञान दिँदै आएको छ। ५० जना बटुकलाई वेद पढाउँदै आएको विद्यालयले बटुकहरुलाई खानेबस्नेदेखि शिक्षा आर्जनसम्मको खर्च व्यवस्थापन गर्दै आएको छ।
विद्यालयका गुरु अरुण घिमिरे बटुकहरुलाई सैद्धान्तिक ज्ञान सँगै व्यावहारिक ज्ञानका लागि बिहानबेलुका आरतीसँगै विभिन्न कर्मकाण्ड गर्न लगाइने हुँदा हेर्ने भक्तजनको भीड लाग्ने गरेको बताउँछन्।
‘हामीले व्रतबन्ध, विवाहदेखि दैनिक सन्ध्याकालीन आरती पनि बटुकहरुबाट गराउँछौँ। यसले पनि मन्दिरको शोभा थप बढाएको छ,’ उनी भन्छन्।
शिक्षक घिमिरे सनातन धर्ममा कर्मकाण्ड विधि क्रमश हराउँदै गरेको अवस्थामा आफूहरु परम्परागत रुपमै वैदिक शिक्षा दिन लागिपरेको बताउँछन्। हुन त शाश्वत धाम स्थापनापूर्व नै स्थापनाकर्ता चौधरी ग्रुपले विद्यालय निर्माण सुरु गरिसकेको थियो। सनातन धर्ममा हराउँदै गएको पारम्पारिक प्रक्रियाहरुलाई पुनः जागृत गराउन विद्यालयले महत्वपूर्ण भूमिका खेल्दै आएको हो।
मन्दिर दर्शनमा लाग्दैन शुल्क
शाश्वत धाममा निशुल्क प्रवेश गर्न पाइन्छ। पार्क र मन्दिर दर्शन तथा अवलोकन निशुल्क भए पनि संग्रहालय अवलोकनका लागि भने निश्चित मूल्य तोकेको छ। जस अन्तर्गत तीन वटा संग्रहालयमा अवलोकन गर्नुपरेमा प्रतिव्यक्ति १ सय ५० रुपैयाँ तिर्नुपर्ने हुन्छ भने विद्यार्थीले ६० रुपैया तिरे पुग्छ। यस्तै ६० वर्षमाथिका जेष्ठ नागरिकलाई भने मन्दिर व्यवस्थापन समूहले निशुल्क संग्रहालयको अवलोकन गराउँदै आएको छ।
निर्माणमै लाग्यो १४ वर्ष
चौधरी ग्रुपले निर्माण गरेको यो मन्दिर निर्माणका लागि १४ वर्ष लागेको हो। खजुरवान शैलीमा निर्मित मूल मन्दिर र सहायक मन्दिरहरु सिमेन्टबाट निर्मित भए पनि कलात्मक रुपमा चित्रहरु कुँदिएका छन्। सन् २००२ मा नेपाल भ्रमणमा आएका बेला शंकराचार्य जयेन्द्र सरस्वतीले चौधरी परिवारलाई नेपालमा गुरुकुल सहितको धाम बनाउन आशीर्वाद दिएका थिए। सोही अनुसार सन् २००३ मा शिलान्यास गरिएको थियो।
प्रतिक्रिया