ad ad

समाज


सय किलो सुन प्रकरण : राजस्वले सीआईबीलाई बुझायो पक्राउ परेका १७ अभियुक्त र अनुसन्धान फाइल

सय किलो सुन प्रकरण : राजस्वले सीआईबीलाई बुझायो पक्राउ परेका १७ अभियुक्त र अनुसन्धान फाइल

सुन तस्करी प्रकरणमा पक्राउ परेका अभियुक्तहरु। तस्बिर : नेपालखबर


नेपालखबर
साउन २१, २०८० आइतबार १६:४७, काठमाडौँ

गत साउन ३ गते राजस्व अनुसन्धान विभागले बरामद गरेको करिब एक सय किलो सुन र उक्त प्रकरणमा पक्राउ परेका व्यक्तिहरुलाई आइतबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा बुझाएको छ।

अहिलेसम्म संकलित अनुसन्धानका प्रमाणहरु, अनुसन्धानको फाइल जे जस्तो अवस्थामा छ, त्यही अवस्थामा र पक्राउ परेका १७ जनालाई सीआईबी पठाउन लागिएको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले नेपालखबरलाई जानकारी दिए। 

‘हामीले पक्राउ गरेका सबै आरोपिहरु, हामीले संकलन गरेका प्रमाण र अहिलेसम्मको अनुसन्धान फाइल जस्ताको तस्तै सीआईबीमा पठाउँदै छौं’, ढुंगानाले भने। 

सरकारले गत बिहीबार मात्रै राजस्वले अनुसन्धान गरिरहेको यो प्रकरणको थप अनुसन्धान गर्ने जिम्मा सीआईबीलाई दिने निर्णय गरिसकेको छ।

सरकारको उक्त निर्णयपछि आइतबार राजस्वले अनुसन्धानका सबै फाइल र पक्राउ परेकाहरुलाई समेत प्रहरीमा हस्तान्तरण गर्न लागेको हो। 

उता प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पनि अनुसन्धान अधिकृत तोकिसकेको छ।

डीएसपी दुर्गाराज दाहालको नेतृत्वमा शुक्रबारदेखि नै अनुसन्धान सुरु भइसकेको सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले बताइन्।

अहिले खासगरी टेक्निकल पाटोबाट हेरिरहेको बताउँदै उनले राजस्वबाट फाइल आइसकेपछि अनुसन्धान अगाडि बढाउने विधिबारे प्रष्ट हुने एआईजी बज्राचार्यले जानकारी दिइन्। 

राजस्वले फरक मितिमा यो प्रकरणमा संलग्न रहेको आरोपमा १८ जनालाई पक्राउ गरेको छ। तीमध्ये एकजना बिरामी भएका कारण हाजिरी जमानीमा छाडिएको छ। 

पक्राउ पर्नेहरुमा ट्याक्सी चालक अशोक लामा, भन्सार एजेन्ट राजेन्द्र राई, रेडी ट्रेडका सञ्चालक दिलीप भुजेल, दिलीपका मामा रामकुमार भुजेल र दिलीपलाई कम्पनी खोल्न लगाउने हर्कराज राई रहेका छन्। 

यस्तै तिब्बतीमूलका भारतीय नागरिक थुप्तेन छिरिङ, चिनियाँ नागरिक जिक्वाङ लिन, कार्गो कम्पनी सञ्चालकहरु राजन श्रेष्ठ, कृष्ण श्रेष्ठ, पुस्करराज भट्ट, भन्सार अधिकृत सन्तोष चन्द, एक्सरे अपरेटर सरोज श्रेष्ठ र भन्सार जाँचमै संलग्न कुमार ढकाल पक्राउ परेका छन्। 

तस्करीको सुन भन्सार पास गर्न सहयोग गरेको भन्दै भन्सार एजेन्टहरू यादव शंकर पराजुली, सुदर्शन गौतम र रुक्मिना सुब्बा पक्राउ परेका थिए। तर सुब्बा क्यान्सरको बिरामी भएकाले छाडिएको छ। 

चिनियाँ नागरिक लिनलाई भाडामा गोदाम खोजिदिने नुवाकोटका सन्तोष तामाङ पनि पक्राउ परेका छन्। 

उनीहरुलाई यसअघि ललितपुर परिसर र सानेपा प्रभागको हिरासतमा राखेर राजस्वले अनुसन्धान गरिरहेको थियो। तर अब सीआईबीमा पठाउने भएको हो। 

अब बाँकी अनुसन्धान गर्ने जिम्मा सीआईबीको हुनेछ। संलग्न देखिएका थप व्यक्तिलाई पनि सीआईबीले नै पक्राउ गर्नेछ।

पक्राउ परेकाहरुविरुद्ध सीआईबीले राजस्व छली र संगठित अपराधमा एकसाथ अनुसन्धान अघि बढाउने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .