समाज


वनमन्त्रीको आग्रह : जनावरको बारेमा लेख्ने, बोल्ने संस्थाले बाघ संरक्षणमा सहयोग गर्नुपर्‍यो

वनमन्त्रीको आग्रह : जनावरको बारेमा लेख्ने, बोल्ने संस्थाले बाघ संरक्षणमा सहयोग गर्नुपर्‍यो

नेपालखबर
साउन १३, २०८० शनिबार १४:५५, काठमाडौँ

वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले बाघ संरक्षणमा सहयोग गर्न गैरसरकारी संस्थाहरुलाई आग्रह गरेका छन्।

उनले बाघको संख्या गत वर्ष नै दोब्बर बनाएर अन्तर्राष्ट्रिय समुदायमाझ नेपालले छुट्टै पहिचान बनाएको उल्लेख गर्दै अब त्यसको संरक्षणका लागि अन्तर्राष्ट्रिय संघ, संस्थाहरुले सहयोग गर्नुपर्ने बताएका हुन्।

विश्व बाघ दिवसको अवसर पारेर शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री महतोले बाघको संख्या बढाउने काममा नेपालले विश्वमाझ नै प्रशंशा पाएपनि त्यसको संरक्षण कार्य चुनौतिको रुपमा उभिएको भन्दै त्यस क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ, संस्थाहरुले बाघ संरक्षणमा सहयोग गर्नुपर्ने उनले बाघ, हात्ती लगायतका वन्यजन्तु खाना नपुगेपछि बस्ती पस्ने गरेकाले उनीहरुलाई बासस्थानमै उचित खानपानको व्यवस्था गर्न पनि त्यस क्षेत्रमा कार्यरत संस्थाहरुले त्यसको संरक्षणको क्षेत्रमा लगानी गर्नुपर्ने तर्क गरे।

नेपालमा पछिल्लो समय बाघ, हात्ती लगायतका वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेहरुको संख्या बढ्दै गएको स्मरण गराउँदै मन्त्री महतोले त्यसलाई नियन्त्रण गर्ने काममा लाग्नुपर्नेमा जोड दिनुभयो। उनले गैर सरकारी संस्थाहरुले नेपालको आवश्यकताअनुसार लगानी गर्ने काम गर्नुपर्ने पनि बताए।

मन्त्री महतोले भने, ‘अहिले एउटा ठूलो बहस चलेको छ। मानिसको जीवन ठूलो कि जनावरको जीवन ठूलो भनेर। किन भन्दाखेरी हरेक वर्ष बाघबाट होस्, हात्तिबाट होस्। र, अन्य जन्तुबाट होस्। तर नेपालमा यसबाट मानिसहरुको मृत्यु हुने क्रम बढिरहेको छ। अब त्यसलाई रोक्न लागि हामी कसरी व्यवस्थापन गर्न सकिन्छ? यहाँ हाम्रो पार्टनरहरु छन्। जसले हरेक दिन, रात नेपालमा बसेर तपाई हाम्रो जनावरको बारेमा सोच्ने, काउन्टिङ गर्ने, त्यसको बारेमा लेख्ने, बोल्ने, प्रचारप्रसार गर्ने, चासो राख्ने ती निकायहरुले हामीलाई अव यो संरक्षणमा सहयोग गर्नुपर्यो। बाघ बढ्दै जान्छ। त्यसलाई धान्ने क्षेत्रफल नभएपछि त्यो बस्ती खानका लागि पस्न सक्छ।’

कार्यक्रममा बाघ संरक्षण, व्यवस्थापनका लागि छुट्टै योजना तयार पार्ने कामलाई अघि बढाइएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा प्रवक्ता अजय कार्कीले जानकारी दिएका थिए।

नेपालमा तराईका ५ वटा निकुञ्जहरु र त्यस वरपरका वन क्षेत्रमा बाघ पाईन्छ। सन् २०२२ को तथ्यांक अनुसार नेपालमा हाल ३५५ वटा बाघ छन्। नेपालले सन् २०२२ मा बाघको संख्या दोब्बर बनाएर अन्तर्राष्ट्रिय रुपमा आफ्नो छुट्टै पहिचान बनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad