समाज


४६३ कैदीबन्दी रहेको जलेश्वर कारागार डुबानमा

४६३ कैदीबन्दी रहेको जलेश्वर कारागार डुबानमा

नेपालखबर
असार १३, २०७६ शुक्रबार ६:१३,

 महोत्तरी शुक्रबार बिहान मुसलधारे पानी परेपछि जलेश्वर कारागार डुबानमा परेको छ। बिहान ५ बजेबाट करिब डेढ घण्टासम्म भीषण रुपमा परेको मुसलधारे पानीको कारण महोत्तरी, धनुषा र केही वर्षदेखि सर्लाही जिल्लाको समेत संयुक्त कारागारको रुपमा रहेको जलेश्वर कारागार डुबानमा परेको हो।

झण्डै १६० वर्ष पुरानो राणाकालीन समयमा निर्माण भएको जलेश्वर कारागार जलेश्वर नगरपालिका–२ मा सबैभन्दा गहिरो स्थानमा अवस्थित छ भने वर्षाको बेला यो कारागार पटकपटक डुबानमा पर्ने गरेको निमित्त जेलर प्रदीपकुमार साहले बताए।

मुसलधारे पानीले कारागारको बाहिर मूलद्वारदेखि भित्र कैदीबन्दी प्रवेश गर्ने मूल ढोकासम्म पनि पानी भरिएको छ। कारागारभित्र कैदीबन्दी बस्ने बन्दीगृहबाट पानी निकासका लागि बनाइएको नाला भएर पनि बाहिरको पानी भित्र प्रवेश गरेर पूरै कारागार जलमग्न र अस्तव्यस्त भएको चौकीदार श्यामसुन्दर यादवले बताए।

उनका अनुसार वर्षा र बाहिरी नालाबाट आएको पानीले गर्दा भित्रका कैदीबन्दीलाई खाना पकाउन, खान, बस्न, सुत्न, शौचालय जान र घुमफिर गर्न लगायतका विभिन्न समस्या भएको छ। जलेश्वर कारागारमा हाल ४१९ जना पुरुष, ४१ जना महिला र तीन आश्रित बालबालिका गरी जम्मा ४६३ जना कैदीबन्दी रहेका छन्।

त्यस्तै कारागार सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरी बस्ने ब्यारेक समेत पानीले प्रभावित बनेको छ। वर्षाको बेला बाहिरी शहरको पानी समेत नाला भएर कारागारमा प्रवेश गर्दा हुने गरेको समस्याबारे जलेश्वर नगरपालिकालाई पटकपटक लिखित र मौखिक रुपमा आग्रह गर्दा पनि कुनै सुनुवाइ नगरिएको निमित्त जेलर साहले गुनासो गरे। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad