जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी जवान अनुप राय फेरि विवादमा तानिएका छन्। उनलाई हात पछाडि लगेर हतकडी लगाएको भिडिओ सार्वजनिक भएको छ।
रायका आफन्तले उनलाई जिल्ला प्रहरी कार्यालयका अधिकृतले यातना दिएको भन्दै भिडिओ सार्वजनिक गरेका हुन्।
महोत्तरी घर भएका प्रहरी जवान राय यसअघि पनि निलम्बनमा परेका थिए। २०७५ सालमा प्रहरी जवानमा भर्ना भएका रायलाई २ वर्षअघि चोरीको आरोपमा सिरहामा नै हुँदा निलम्बन गरिएको थियो।
यसअघि २०७८ सालमा सिरहाको लहानमा रक्सी चोरेको आरोपमा उनलाई निलम्बन गरिएको थियो। अहिले सार्वजनिक भएको भिडिओ सोमबार अपरान्हको हो।
सिरहाका प्रहरी प्रमुख एसपी टेकुनन्न इवा लिम्बुका अनुसार राय सवारी चालक हुन्। तर रक्सी खाएर गाडी चलाउने गरेपछि उनलाई सवारी चालकबाट अन्य डीयूटीमा खटाउन थालिएको थियो।
अहिले सार्वजनिक भएको भिडिओमा पनि प्रहरी अधिकारीले उनलाई रक्सी पिएको छस्? भनेर सोधेको सुनिन्छ। तर उनले रक्सी नपिएको र रक्सी पिएको भए जागिर नै छाड्ने जवाफ दिएका छन्।
सोमबार साँझ गस्तीमा जाने टोलीमा उनलाई पनि समावेश गरिएको थियो। ड्युटी खटाउने अधिकारीसँग उनी फिल्डमा गस्ती हालेको भन्दै बाझेको एसपी लिम्बुले बताए।
त्यसपछि उनी यस्ता जागिर सागिर खान्न बरु मर्छु भन्दै प्रहरी अधिकारीलाई गाली गर्दै बाहिर गए।
गेटमा ड्युटीमा रहेका प्रहरीले पनि उनलाई रोक्न सकेनन्। गेट बाहिर गएपछि उनलाई अरु प्रहरी गएर पक्राउ गरेका थिए।
पक्राउ गरेपछि उनी सजिलै भित्र आउन नमानेपछि हतकडी लगाएर कार्यालय भित्र ल्याइएको थियो।
सोमबार साँझ उनलाई हिरासतमा राख्ने तयारी गरेपछि उनको भिडिओ खिचिएको थियो। भिडिओ पनि अर्का प्रहरी जवानले नै खिचेका थिए।
हिरासतमा राख्नुअघि स्वास्थ्य परीक्षण गरियो, तर उनले रक्सी खाएको भने रिपोर्टमा देखिएन।
सोमबार उनलाई हिरासतमा राखिएको थियो। मंगलबार हिरासतबाट छाडेपछि उनी ब्यारेकमा (प्रहरी निवास) गए। त्यसपछि उनले आफ्नो भिडिओ खिच्ने जवानको मोवाइलबाट आफ्नोमा पठाएर आफन्तमार्फत उक्त भिडिओ सार्वजनिक गरेका थिए।
‘उसले ड्युटीमा खटाउने प्रहरी अधिकृतलाई गाली गर्दै अब जागिर सागिर छाड्छु भन्दै गयो। गेटमा रहेको ड्युटीलाई पनि नटेरी हिँड्यो। गेटबाहिर गइसकेपछि प्रहरीले नियन्त्रणमा लिएर ल्याउने क्रममा उग्र बनेपछि हतकडी लगाइएको हो’, एसपी लिम्बुले भने, ‘यस विषयमा थप अनुसन्धान गर्दैछौँ, कानुन अनुसार दोषी सबैलाई कारबाही हुन्छ।’
सिरहामा प्रहरी जवानलाई इन्स्पेक्टरले किन लगाए हतकडी?
— Nepalkhabar (@nepalkhabar) July 12, 2023
समाचार : https://t.co/oZ2uYkY4S2 pic.twitter.com/Ps1vNqGaIP
Shares

प्रतिक्रिया