ad ad

समाज


सातै प्रदेशमा पानी पर्ने, कोशी, बागमती र गण्डकीमा भारी वर्षा हुने

सातै प्रदेशमा पानी पर्ने, कोशी, बागमती र गण्डकीमा भारी वर्षा हुने

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
असार २७, २०८० बुधबार ७:११, काठमाडौँ

आज (बुधबार) पनि देशका सातै प्रदेशमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस क्रममा कोशी, बागमती र गण्डकीमा भारी वर्षाको पनि सम्भावना छ।

अहिले बिहान पनि कोशीका थोरै तथा मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका  एक/दुई स्थनमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए। 

महाशाखाका अनुसार दिउँसो सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। अनि कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा भने मेघगर्जन/चट्याङसहित भारी वर्षा हुने सम्भावना पनि छ। 

मौसमविद् लामिछानेले दिउँसो काठमाडौं उपत्यकामा पनि वर्षाको सम्भावना देखिएको बताए। ‘ठूलो वर्षाको सम्भावना त छैन’, उनले भने, ‘तर काठमाडौं उपत्यकामा पनि हल्कादेखि मध्यमसम्म वर्षा हुने देखिन्छ।’ 

यस्तै राति पनि सबै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। महाशाखाका अनुसार कोशी तथा गण्डकी प्रदेशका एक/दुई ठाउँमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।

यस्तै राति काठमाडौं उपत्यकामा पनि वर्षाको सम्भावना रहेको मौसमविद् लामिछानेले जानकारी दिए। 

मौसम महाशाखाले आगामी २४ घण्टा (बिहीबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ। 

जसमा भनिएको छ– ‘सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको हुनाले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुनसक्ने देखिन्छ। तसर्थ भारी वर्षा, मेघगर्जन/चट्याङ, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

मौसमी भाषाको अर्थ

मौसमविद्का अनुसार १० मिलिमिटरभन्दा कम पानी पर्नुलाई हल्का वर्षा, १० मिलिमिटरदेखि माथि ५० मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई मध्यम वर्षा तथा ५० भन्दा माथि सय मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई भारी वर्षा भनिन्छ। यस्तै सय मिलिमिटरभन्दा माथि र दुई सयभन्दा मुनि मिलिमिटर पानी पर्नुलाई धेरै भारी वर्षा भनिन्छ। अनि २ सय मिलिमिटरदेखि माथि पानी पर्नुलाई अति भारी वर्षा भनिन्छ। 

यस्तै सम्बन्धित क्षेत्रको १० प्रतिशत भूभागमा मात्रै वर्षा हुनुलाई एक/दुई स्थान, १० देखि ३० प्रतिशत भूभागमा पानी पर्नुलाई थोरै स्थान, तोकिएको क्षेत्रको ३० देखि ५० प्रतिशत भूभागमा वर्षा हुनुलाई थोरै स्थान, ५० देखि ८० प्रतिशत भूभागमा पानी पर्नुलाई केही स्थान, ८० प्रतिशतभन्दा बढी भूभागमा वर्षा हुनुलाई अधिकांश स्थानमा वर्षा हुने भनेर बुझ्नुपर्ने मौसमविद् बताउँछन्।  

यस्तै मौसम महाशाखाले दिउँसो भन्नाले दिन अर्थात् बिहान ६ बजेदेखि साँझ ६ बजेसम्मको समयलाई मान्ने गरेको छ भने राति भन्नाले साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको समय हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .