भारतको हिमाञ्चल प्रदेशस्थित सिम्ला जिल्लाको क्यारामा गएको पहिरोमा पुरिएर तीनजना नेपालीको मृत्यु भएको छ। रूकुम पश्चिमको त्रिवेणी गाउँपालिका–९ का एकै परिवारका तीन जनाको मृत्यु भएको वडाध्यक्ष हरिबहादुर खड्काले नेपालखबरलाई जानकारी दिए।
सोमबार बिहान १० बजेतिर आएको पहिरोमा पुरिएर त्रिवेणी–९ खहरेका ५० वर्षीय देबबहादुर वली, उनकी श्रीमती ४८ वर्षीय भिमा वली र १६ वर्षीय कान्छो छोरा मोहन वलीको मृत्यु भएको हो।
उनीहरूको परिवार नै रोजगारीको सिलसिलामा भारत गएका थिए। देबबहादुर र भिमाका जेठा छोरा लोकेन्द्र वली पनि भारतमै उनीहरूसँगै बस्दै आएका थिए।
तर, सोमबार बिहान पहिरो आउँदा बाहिर भएकाले जोगिएको खबर आफूले पाएको वडाध्यक्ष खड्काले बताए।
‘उहाँहरूको परिवार नै भारतमा रोजगारीका लागि गएको थियो। आर्थिक अवस्था कमजोर भएर ऋण लागेपछि परिवार नै उठेर भारत गएको थियो,’ वडाध्यक्ष खड्काले भने, ‘जेठा छोरा लोकेन्द्रलाई लिनका लागि यहाँबाट २ जना मान्छे पठाएका छौं।’
उनीहरू कोठाभित्रै रहेको बेलामा पहिरो खसेको थियो।
कान्छा छोरा मोहन भने यसै वर्षमात्र एसईई परीक्षामा सहभागी भएर भारत गएका थिए। अहिले गाउँमा भने बुहारीमात्रै रहेको खड्काले बताए।
क्यारामा विगत तीन–चार दिनदेखि निरन्तर अविरल वर्षा भइरहेको छ।
Shares

प्रतिक्रिया