ad ad

समाज


हिमपातले कर्णालीको जनजीवन कष्टकर

हिमपातले कर्णालीको जनजीवन कष्टकर

नेपालखबर
माघ ३, २०७६ शुक्रबार ४:४७,

कर्णालीमा फेरि हिमपात र वर्षा सुरु भएको छ। यसवर्ष यो सिजनमा कर्णाली क्षेत्रमा हिमपात र वर्षा भएको यो सातौँ पटक हो।

हिमपातले हिमाली क्षेत्रको जनजीवन बढी प्रभावित बनेको छ। हुम्ला, डोल्पा, मुगु, जुम्लाका नागरिकको दैनिकी निकै कष्टकर बनेको त्यहाँका स्थानीय बासिन्दा जनाएका छन्।

जाजरकोट, रुकुमपश्चिम र कालीकोटको उच्च भागका बासिन्दा पनि चिसोबाट प्रभावित बनेका छन्। हिमपात र वर्षाले कठ्याङ्ग्रिँदो चिसो बढेको छ।

हिमपातले लामो तथा छोटो दूरीका यातायात सञ्चालन हुन सकेका छैनन्। हवाई यातायात दुई दिनदेखि ठप्प छ। खाद्य तथा अन्य वस्तुको आयात रोकिँदा हिमाली बासिन्दाको दैनिकी समस्याग्रस्त बन्दै गएको छ।

चिसोले हुम्ला, डोल्पा, मुगु र जुम्लाका धारामा बरफ जम्ने, पाइप फुट्ने, विद्युत्का पोल भाँचिने तथा तार चुँडिने समस्या बढेको त्यहाँका स्थानीयले जनाएका छन्।

जिल्ला प्रशासन कार्यालय हुम्लाका सहायक प्रमुख अधिकारी दत्तराज हमालले हिमपातले हुम्लाका नागरिकको दैनिकी निकै सकसपूर्ण बन्दै गएको बताए।

‘हिमपातको समयमा जिल्लावासीलाई बाहिर नजान र लामो यात्रा नगर्न आग्रह गरेका छौँ,’ उनले भने। हिमपातले साविकको कर्णालीमा मोबाइल तथा टेलिफोन सेवा पनि अवरुद्ध छ।

जुम्ला चन्दननाथ-९ का स्थानीय धर्मसिंह कठायतले बरफ जमेर धारा बन्द हुँदा खानेपानी जोहो गर्न धौ–धौ परेको बताए। ‘धारोबाट पानी पग्लाउन पानी तताएर पाइपमा खन्याउनुपर्छ। पानीको विकल्प हिउँ प्रयोग गर्ने गरेका छौँ,’ उनले भने। सिलिण्डरको ग्याँससमेत चिसोले जम्न थालेपछि खान पकाउन पनि हम्यहम्य भएको छ।

जाडो मौसममा वर्षेनी हिमाली जिल्लाका अधिकांश युवा रोजगारीको लागि कालापहाड जाने गर्छन्। गाउँमा बस्ने ज्येष्ठ नागरिक, महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिलाई चिसोमा बढी समस्या हुने गरेको तिला गाउँपालिका–३ जुम्लाका स्थानीय नरबहादुर रावतले बताए।

हिमपातले बिस्कुन सुकाउन, पिठो पिस्न, वस्तुभाउलाई घाँसपात, घरमा बाल्ने दाउरा प्रबन्ध गर्न गाह्रो भएको उनको भनाई छ।

चिसोले सुर्खेत, दैलेख सल्यान र रुकुम पश्चिमका शैक्षिक संस्था पनि प्रभावित भएका छन्। सरकारी नियमित कामकाज हुन सकेको छैन। हिमाली जिल्लामा बढेको चिसोका कारण सेवाग्रहीले सेवा लिन पाएका छैनन् । कर्मचारीले भने आगो बालेर कार्यालय खुला गर्दै आएका छन्।

हावापानी फिल्ड कार्यालय जुम्लाका अनुसार जुम्लाको आजको तापक्रम माइनस दुई डिग्री सेल्सियस छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .