ad ad

समाज


देशभर फैलियो मनसुन, ‘धेरै भारी’ वर्षाको सम्भावना

देशभर फैलियो मनसुन, ‘धेरै भारी’ वर्षाको सम्भावना

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
असार ८, २०८० शुक्रबार १५:०, काठमाडौँ

आज (असार ८ गते) देखि मनसुन (वर्षायाम ल्याउने मौसमी प्रणाली) देशभर फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाले शुक्रबार दिउँसो विशेष बुलेटिन जारी गर्दै भनेको छ– आज मिति वि.सं. २०८०/०३/०८ गतेका दिन मनसुन प्रणाली नेपालभर फैलिएको छ।’

नेपालमा यस वर्षको मनसुन औसत मितिभन्दा एकदिन ढिला गरी जुन १४ तारिख (जेठ ३१ गते) कोशी, मधेश र गण्डकी प्रदेशको पूर्वी भाग र बागमती प्रदेशका अधिकांश क्षेत्रमा प्रवेश गरेको थियो। यस हिसाबले मनसुन देशभर फैलिन ९ दिन लागेको महाशाखाले जनाएको छ। 

मनसुन देशभर फैलिएको र सक्रिय अवस्थामा रहेकाले आगामी तीन दिन (असार ८ देखि १०) सम्ममा देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। 

विशेष बुलेटिनमा अगाडि भनिएको छ– साथै मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाका साथै सोही प्रदेशका एक/दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको देखिन्छ।’

जसका कारण बाढी, पहिरो, डुबान, भूक्षय, बाटो हिलाम्य हुने तथा गेग्रान बहाव प्रभावहरूले सडक तथा हवाई यातायात, कृषि, पर्यटन, स्वास्थ्यलगायतका क्षेत्र प्रभावित हुन सक्ने देखिएको महाशाखाले जनाएको छ। 

‘त्यसैले खराब मौसमका कारणले हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ’, बुलेटिनमा भनिएको छ।

मौसमविद्का अनुसार २४ घण्टामा– १० मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई हल्का वर्षा, १० मिलिमिटरदेखि माथि ५० मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई मध्यम वर्षा तथा ५० भन्दा माथि सय मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई भारी वर्षा भनिन्छ। यस्तै सय मिलिमिटरभन्दा माथि र दुई सयभन्दा मुनि मिलिमिटर पानी पर्नुलाई धेरै भारी वर्षा भनिन्छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .