समाज


वर्षा हुँदा झस्किछन् मनाङवासी

वर्षा हुँदा झस्किछन् मनाङवासी

फाइल तस्बिर


नेपालखबर
असार २, २०८० शनिबार १७:२७, काठमाडौँ

‘प्री–मनसुन’ सुरुआत भएसँगै पश्चिमी वायुको प्रभावका कारण वर्षा हुन थालेको छ।

लामो समय जोखिम र अभाव भोगेका मनाङवासी ठूलो वर्षा  हुनासाथ झस्किन्छन्। दुई वर्षअघि ठूलो वर्षाका कारण करिब दुई महिना सडक सञ्जालबाट विच्छेद रहेका यहाँका स्थानीय हालसम्म त्यही जोखिम सम्झेर झस्कने गरेको बताउँछन्। 

सडक सञ्जाल विच्छेद हुँदा यहाँका बासिन्दाले खाद्यान्न, खानेपानी, विद्युत्को अभाव भोगेका थिए। अहिले पनि त्यस बेलाको जस्तै हुन्छ कि भनेर ठूलो वर्षा हुनासाथ झस्कने गरेको नासो गाउँपालिका–५ धारापानीका कृष्ण गुरुङले बताए। 

‘अलि ठूलो पानी परेपछि मन झसङ्ग हुन्छ, फेरि पनि ठूलो पानी पर्‍यो भने अभाव र घरबासविहीन हुनुपर्छ कि भन्ने लाग्छ’, उनले भने।

चामेका फुर्वा लामाले भने, ‘लामो समयसम्म ठूलो वर्षा भयो भने मन आतिन्छ। कहीँ जानआउन गर्नसमेत गाह्रो हुन्छ, कहीँबाट सहज रुपमा सहयोग पाउन पनि समस्या हुन्छ।’

उनले जोखिमको सतर्कता अपनाउन सुझाव प्रशासनले दिइरहेको भन्दै विपद्लाई सामान्य रुपमा भने लिन नहुने बताए।

डुम्रे–बेसीसहर–चामे सडकअन्तर्गत मनाङका विभिन्न स्थानमा सुक्खा पहिरा खसिरहेको हुन्छ। ‘यस सडक खण्डअन्तर्गत हुनसक्ने सुक्खा पहिराका कारण बेलाबेलामा सडक अवरुद्ध हुने गर्छ,’ नासो–५ का वडाध्यक्ष थुदेन लामाले भने, ‘समयानुकूल रुपमा समाधान गर्ने गरेका छौँ।’

उनका अनुसार जेठ ११ मा चट्टानसहितको सुक्खा पहिरा खस्दा उक्त सडक अवरुद्ध भएको थियो। 

बर्खायाम वा अन्य समयमा पनि यहाँको यात्रा सहज छैन। बर्खायाम सुरुआत भएसँगै अझ बढी जोखिम बढ्ने गर्छ।

बर्खायाममा पर्ने झरीका कारण एक ठाउँमा मर्मत गर्न नभ्याउँदै अर्को स्थानमा सडक भत्किने हुँदा मनाङवासी, पर्यटक आवतजावतमा समस्या हुने गरेको छ। 
    
मनाङमा विकास निर्माणका काम गर्न सहज नभएको लामाले बताए। ‘बजेट विनियोजन भएर आए पनि मौसम प्रतिकूलताले गर्दा काम गर्न सकस हुने गर्दछ। वर्षको तीनदेखि पाँच महिना मात्रै काम गर्न सकिन्छ’, उनले भने।

मनाङ हिमाली जिल्ला भएकाले निरन्तर विकास निर्माणको काम गर्न सहज नहुने स्थानीय बताउँछन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad