समाज


‘कोही पनि अभियुक्त उम्किने कुनै ठाउँ छैन, थुनामा पठाउन अनेक प्रमाण छन्’

‘कोही पनि अभियुक्त उम्किने कुनै ठाउँ छैन, थुनामा पठाउन अनेक प्रमाण छन्’

फाइल तस्बिर


नेपालखबर
असार १, २०८० शुक्रबार १३:३९, काठमाडौँ

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका कुनै पनि अभियुक्तहरु उम्किन नसक्ने तर्क सरकारी वकिलहरुले गरेका छन्।

शुक्रबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा जवाफी बहसका क्रममा उनीहरुले भीआईपीदेखि साधारण अभियुक्त पनि उम्किन नसक्ने दाबी उनीहरुले गरेका छन्।

सह-जिल्लान्यायाधिवक्ता महेश खत्रीले बहसका क्रममा अभियुक्तहरुविरुद्ध अनेकौँ प्रमाण रहेका दाबी गरे। 

बसहका क्रममा इजलासबाट न्यायाधीश न्यौपानेले,  ‘तपाईंहरुले बयान चाहिँ ठगी र किर्तेमा मात्रै लिनु भयो। अनि राज्यविरुद्धको कसुर र संगठित अपराधमा पनि किन मुद्दा ल्याउनु भयो?’ भनेर सोधेका थिए। 
  
त्यसमा त अभियुक्तरुलाई सोध्दै नसोधेको प्रश्न उनले उठाएका थिए। 

तर जवाफी बहसमा खत्रीले अभियुक्तहरुलाई बयानका क्रममा नै यी विषयमा पनि सोधिएको बताए।

‘उहाँहरुविरुद्धको अभियोग लगाउने क्रममा अनेक प्रमाण छन्। बैंक स्टेटमेन्ट छ। प्रमाणहरु सबै छन्’, जवाफमा खत्रीले भने। 

त्यसपछि न्यायाधीशले पटक पटक के आधारमा बयान गराउनु भयो? यस्तो व्यवस्था कानुनमा छ त? भनेर सोधेका थिए।

त्यसपछि खत्रीले कानुनमै उक्त कुरा रहेको बताए। ‘होइन, श्रीमान् कानुनमै बयान गराउने व्यवस्था छ। कानुनअनुसार नै गरिएको हो’, खत्रीले भने। 

त्यसपछि न्यायाधीश न्यौपानेले सानु भण्डारीको डायरीबारे प्रश्न उठाए। ‘सानु भण्डारीको जुन डायरी छ नि कसैले डायरीमा लेखेकै आधारमा अदालतले प्रमाण ग्रहण गर्न मिल्छ त?’, न्यायाधीशले सोधे। 

जवाफमा खत्रीले अरु पनि प्रमाण रहेको बताए। ‘हामीले डायरीलाई मात्रै प्रमाण मानेका छैनौँ। तर डायरी केही होइन भन्ने पनि होइन। पहिले नै घरबाट बरामद गरिएकाले त्यो एउटा प्रमाण हो’, खत्रीले भने, ‘निरज राईले सानु भण्डारीलाई ५० लाखको चेकको कागज गरी दिएका छन्। यदि होइन भने यो कागज गर्न किन जरुरी थियो? बालकृष्ण खाँणको पनि कागज छ।’

त्यसपछि न्यायाधीश न्यौपानेले ‘त्यो कागजका आधारमा प्रमाण मानेर दोषी भन्न मिल्छ त?’, भनेर सोधे। उनले केशव दुलाल र टेकनारायण पाण्डेबीच भएको कुरालाई लिएर बालकृष्ण खाँणलाई मुछ्न मिल्छ त? भनेर अर्को प्रश्न गरे। 

जवाफमा खत्रीले बालकृष्णलाई मुद्दा चलाउने प्रमाण रहेको  बताए। ‘त्यति मात्रै छैन श्रीमान् आङटावा शेर्पा पनि जोडिनु भएको छ। उहाँले पैसा पनि फिर्ता गरेको प्रमाण छ। अदालतको बयानमा आङटावाले झुटो बोल्नु भयो। तर पप हिले स्वीकार्नु भएको थियो’, खत्रीले भने, ‘परीक्षणका लागि पठाइएको सानुको मोबाइलको अडियो पनि प्रमाण हो।’
 
बालकृष्ण पन्थीले भुटानी शरणार्थीसम्बन्धी प्रतिवेदक आफू भएकाले नक्कली प्रतिवेदनको कुरा पनि खुलाइसकेको बताए। 

‘नक्कली प्रतिवेदनबारे खुलाइसक्नु भएको छ। त्यो ठूलो प्रमाण हो। प्रतिवादीमध्येकै रामशरण केसीले अझै पनि अदालतले खोजेमा म प्रमाण दिन्छु भनिरहनु भएको छ’, उनले भने, ‘योभन्दा ठूलो प्रमाण के हुन्छ? ५ महिनाको अवधिमा टेकनारायणको खातामा झन्डै १ करोड जम्मा भएको छ। त्यो रकम कहाँबाट आयो? उहाँको बयान पनि बाझिएको छ। कहीँ एक करोड आम्दानी भन्नु भएको छ कहीँ म सामान्य कर्मचारी हो भन्नु भएको छ।’
 
उनले सन्देश शर्माले पनि अडिओ आफ्नै भएको स्वीकारिसेका बताए। ‘जाहेरवालाले चेक दिँदा नमानेपछि नगद नै बुझाएको भनेका छन्। प्रतिवादीका वकिलले प्रतिवादी चाहिँ निर्दोष र जाहेरवाला चाहिँ दोषी भन्नु भएको छ। त्यस्तो हुन्छ त्यो हुनै सक्दैन’, उनले भने। 

खत्रीले सहप्रतिवादीको बयानकै आधारमा मुद्दा चलाउन नमिल्ने भएकाले प्रेम राई र रामबहादुर थापा बादलहरुलाई मुद्दा नचलाइएको बताए। 

‘प्रमाण जुट्नासाथ उनीहरुविरुद्ध पनि मुद्दा चल्छ। जाहेरवाला पनि कसुरदार हो भन्ने अनि प्रतिवादी पनि निर्दोष भन्ने उहाँ। गृहमन्त्रालयको तत्कालीन महाशाखाका फणिन्द्रमणि पोखरेल र सागरमणि पाठकविरुद्ध प्रमाण भेटिएन। उहाँहरुविरुद्ध प्रमाण भेटिएन निर्दोषविरुद्ध मुद्दा चलाउन मिल्दैन’, उनले भने।

न्यायाधीश न्यौपानेले फेरि ‘गृहमन्त्रालय कहाँ भनेर नदेखेको मान्छेलाई पनि तपाईंहरुले के के अभियोग लगाउनु भयो नि त?’ भनेर सोधे। 
 
त्यसपछि खत्रीले संगठित अपराधमा आ-आफ्नो भूमिका हुने भएकाले गृहमन्त्रालय चिन्नै नपर्ने बताए। ‘यसमा आ-आफ्नो भूमिका हुन्छ। बाँडिखाने त हुन् नि गृहमन्त्रालय चिन्नै पर्छ भन्ने छैन’, उनले भने, ‘इन्द्रजितले चार महिनामा त्यत्रो रकम कहाँबाट जुटाए? बयानका क्रममा अदालतमा भन्न नसकेको प्रमाण वकिलले कहाँबाट ल्याए?’
 
खत्रीले अब यस्ता कसुर कसैले गर्न नसकुन् भनेर प्रतिवादीहरुलाई थुनामा पठाउनै पर्ने बताए। यो प्रकरणमा थुनामा पठाउनका लागि एकै प्रमाण काफी हुने बताए। ‘यहाँ त प्रमाण कति छन् कति’, उनले भने।

खत्रीले केशव दुलालले टेकनाराण पाण्डेलाई पैसा बुझाएका कुराको सूचना मोबाइलबाट पनि पठाउन सकिने बताए। ‘गेटमा आएँ हजुर कहाँ आएँ कहाँ ल्याऊँ भन्नु पर्छ पास भनेको के हो त ममको डल्ला हो? यदि केशव दुलाललाई कुरा राखेको भए कहीँ कहीँ त प्रमाण हुन्छ नि रेकर्ड हुन्छ नि’, उनले भने, ‘यो प्रकरणमा एक होइन अनेक प्रमाण छन्, प्रतिवादीहरुलाई थुनामा पठाउन ती पर्याप्त छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .