समाज


एक साता पुग्दा पनि सकिएन प्रतिरक्षा बहस, अझै तीनजनाको बाँकी

बुधबार बालकृष्ण र शमशेरको पक्षमा वरिष्ठ वकिलहरु बोले
एक साता पुग्दा पनि सकिएन प्रतिरक्षा बहस, अझै तीनजनाको बाँकी

फाइल तस्बिर


नेपालखबर
जेठ ३१, २०८० बुधबार १८:१८, काठमाडौँ

नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरुको पक्षमा गत बुधबारदेखि भइरहेको प्रतिरक्षा बहस एक साता पुग्दा पनि सकिएन।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजालसमा गत बुधबारदेखि वकिलहरुले प्रतिरक्षा बहस गरिरहेका छन्। 

अभियुक्तहरुको पक्षमा प्रतिरक्षा बहस गर्न नाम टिपाएका वकिलको संख्या सयभन्दा माथि थियो। न्यायाधीश न्यौपानेले सोमबार र मंगलबार पनि प्रतिरक्षा बहस बुधबारभित्र सकिसक्न भनेका थिए।

बुधबारसम्म प्रतिरक्षा बहस सकाएर बिहीबार सरकारी वकिलहरुबाट जवाफी बहस गराउने न्यौपानेको तयारी थियो। तर बुधबारसम्मको बहसमा अझै तीन अभियुक्तको पक्षमा वकिलहरुले बोल्न बाँकी रह्यो। 

प्रतिरक्षा बहसको बुधबार एकसाता पुगेका दिन पूर्वगृहमन्त्री बालकृष्ण खाण र हज कमिटीका अध्यक्ष शमशेर मियाँको पक्षमा वकिलहरुले बहस गरेका छन्। 

नक्कली शरणार्थी प्रकरणमा मुछिएका भीआईपीमध्ये एक पूर्वगृहमन्त्री खाँणको पक्षमा मंगलबार र बुधबार भेट्रान वकिलहरुले प्रतिरक्षा बहस गरेका छन्। 

खाँणको पक्षमा बुधबार बिहानदेखि पाँचजनाले वकिलले बहस गरेका थिए। 

वरिष्ठ अधिवक्ताहरु लललितकुमार बस्नेत, रमन श्रेष्ठ, गोपालाकृष्ण घिमिरे, खम्मबहादुर खाती र अधिवक्ता सुरेन्द्र महतोले खाँणको पक्षमा बहस गरे। 

बहसका क्रममा नेपाल बार एसोसियसनका अध्यक्षसमेत रहेका वरिष्ठ अधिवक्ता घिमिरेलेले नक्कली शरणार्थी प्रकरणका बिचौलियाले खाँणलाई पैसा दिएको प्रमाण कहीँ नभएको जिकिर गरे। 

‘बिचौलियाले बालकृष्ण खाँणलाई पैसा दिएको प्रमाण कहीँ छैन। केशव दुलालको बयानमा मन्त्रालयमै लगेर १ करोड २४ दिएको भनिएको छ’, उनले भने, ‘यदि त्यसो हो भने गृहमन्त्रालयमा सीसीटीभी छ। कुन मितिमा दिएको हो? १ करोड २४ लाख पैसा बोक्न झोला चाहिन्छ। कस्तो झोलामा दिएको हो? कस्तो झोलामा लगेको हो? गृहमन्त्रालयको मूलगेटमा कसको गाडीमा छिरेको हो? सीसीटीभी भए ठाउँमा प्रमाण होला त्यसको फुटेज चाहिन्छ। नत्र मान्छेलाई फसाउने गरी आरोप लगाउन पाइँदैन।’

त्यसैगरी पूर्वमहान्यायाधिवक्तासमेत रहेका वरिष्ठ अधिवक्ता खम्म खातीले नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेसका नेता खाँण निर्दोष रहेको तर्क गरे।

‘जाहेरवालाले अभियोगपत्रमा कसलाई रकम दिए भन्ने नै उल्लेख छैन, सबै खाली छ। यसैले पुष्टि गर्छ कि यो अभियोगपत्र हावादारी हो’, ‘यो प्रकरणमा बालकृष्ण खाँणबाट कोही पनि पीडित भएकै छैन। कसलाई तिर्नुपर्ने हो त बिगो? बिगो लिने त कोही चाहियो नि!’

बधुबार बालकृष्णको बहस सकिएपछि वकिलहरुले हज कमिटी अध्यक्ष शमशेर मियाँको पक्षमा प्रतिरक्षा गरे।

त्यसपछि नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाको पक्षमा बुधबार अपरान्ह केही बहस भयो। तर उनको पक्षमा आधा बहस भइसकेपछि बुधबारलाई न्यायाधीश न्यौपानेले इजलास उठेको जानकारी दिए।

अब बिहीबार आङटावाको पक्षमा बहस सकिएपछि। अन्य तीन अभियुक्ताहरु लक्ष्मी महर्जन र हरिभक्त महर्जन तथा भुटानी शरणार्थी नेता टेकनाथ रिजालको पक्षमा बहस हुनेछ।

आङटाको बाँकी बहस र अन्य तीनको पक्षमा पनि बिहीबार खाजा समयअघि प्रतिरक्षा बहस सक्ने तयारी गरिएको छ।

खाजा समयअघि प्रतिरक्षा बहस सकिएपछि बिहीबार नै सरकारी वकिलहरुले जवाफी बहस थाल्नेछन्। यदि बिहीबारै प्रतिरक्षा बहस सकिएमा न्यायाधीश न्यौपानेले मुद्दालाई थुनछेकको निर्णयतिर लैजाने छन्। 

सरकारी वकिलको जवाफी बहस भोलि नै भएमा त्यसपछि थुनछेक आदेश आउन सक्नेछ। यो प्रकरणमा प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत ३० जनाविरुद्ध मुद्दाको फाइल अदालत लगेको छ। जसमध्ये १८ जना पक्राउ परेका छन्। 

बिहीबार सरकारी वकिलको जवाफी बहस सकिएमा न्यायाधीश न्यौपानेले शुक्रबारसम्म क-कसलाई थुनामा पठाउने, क-कसलाई धरौटी र साधारण तारेखमा छाड्ने आदेश दिन सक्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .