ad ad

समाज


वन फँडानीबारे प्रश्न गर्नेलाई गाउँपालिका अध्यक्षले दिए पागलको संज्ञा

वन फँडानीबारे प्रश्न गर्नेलाई गाउँपालिका अध्यक्षले दिए पागलको संज्ञा

फाइल तस्बिर


नेपालखबर
जेठ २८, २०८० आइतबार १९:१, काठमाडौँ

नुवाकोटको सूर्यगढी गाउँपालिका वडा नम्बर ४ मा भइरहेको वन फँडानीको विषयमा प्रश्न उठाउने स्थानीयलाई गाउँपालिका अध्यक्षले पागलको संज्ञा दिएका छन्। 

सूर्यगढी-४ मा मन्दिर बनाउन भन्दै वन फाँडिएपछि स्थानीयाबासीले चासो देखाउँदै विरोधमा उत्रिएका थिए।  

वन फाँडिएको विषयमा डिभिजन वन कार्यलयले समेत रोक्न आदेश दिएको थियो। तर गाउँपालिकाले वन फाँड्ने काम नरोकेपछि स्थानीयबासी विरोधमा उत्रिएका हुन्। 

स्थानीयबासी विरोधमा उत्रिएपछि पालिका अध्यक्ष सन्तबहादुर घले (तामाङ) भने सामाजिक सञ्जालमै अमर्यादित टिप्पणी र गालीगलौज गर्न थालेका छन्।

उनले वन फँडानीविरुद्ध आवाज उठाउने स्थानीयलाई सामाजिक सञ्जालमै गालीसहित धम्की दिएका छन्। 

स्थानीय युवा सरोज भट्टराईले वन फँडानीको विरोध गर्दै पालिकाको ध्यानाकर्षण गराउँदा फेसबुक पोस्टमै अध्यक्ष तामाङले अपशब्दसहित गाली गरेका हुन्। 

उनले पालिकाभित्रकै रुख काटिँदा पनि आफूलाई जानकारी नभएको बताएका छन्। उक्त वन क्षेत्र आफ्नो क्षेत्राधिकारमा नपर्ने भन्दै सम्बन्धित निकायमै गएर बुझ्न पनि तामाङले भनेका छन्। 

अशिष्ट शब्दको प्रयोग गर्दै तामाङले प्रश्न गर्ने भट्टराईलाई पागलको पनि संज्ञा दिएका छन्। ‘सरोज भट्टराई जथाभावी नबोल्त। गाउँपालिकाको कसरी मिलेमतो हुन्छ? कसले काट्यो, किन काट्यो सम्बन्धित निकायलाई कुरा गर्नू। वनक्षेत्र गाउँपालिकाअन्तर्गत पर्दैन भन्ने तँ पागललाई थाहा छैन?’

सूर्यगढीमा यसअघि पनि कृषि सामग्रीको अनुदानमा अनियमितता भएको आरोप छ। 

बजार मूल्यभन्दा उच्च तोकेर  ट्र्याक्टर, टनेल प्लाष्टिक वितरण गरेको भन्दै कृषकहरुबाट विरोध भएको थियो। 

बजार मूल्य ४६ सय रहेको टनेल प्लाष्टिकको प्याकेटलाई कृषकसँग ५० प्रतिशत अनुदान भन्दै ३ हजार असुलेपछि विवाद भएको थियो। 

स्थानीय बजारमा खुद्रा मूल्य नै ४६ सय रहेको सामानलाई ६ हजार कायम गरी किसानबाट ३ हजार उठाइएको कुरा खुलेपछि पालिकाले गल्ती स्वीकारेको थियो। पालिकाले किसानलाई रकम पनि फिर्ता गरेको थियो। 

स्थानीय बजारमा ३७ हजार पर्ने हाते ट्र्याक्टरको मूल्य  ४६ हजार कायम गरी कृषकसँग ५० प्रतिशत अनुदान भन्दै २३ हजार उठाएपछि विरोध भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .