ad ad

समाज


भाइबुहारीको चालक बनाउँदा ज्यान गुमाएका सुवास ६ वर्षयता पूर्णबहादुरको सुरक्षामा थिए

सशस्त्र प्रहरी भन्छ : मन्त्रीज्यू बिजी हुनुहुन्छ, रमाना पत्र खोज्दा पनि भेटिएन
भाइबुहारीको चालक बनाउँदा ज्यान गुमाएका सुवास ६ वर्षयता पूर्णबहादुरको सुरक्षामा थिए

ज्यान गुमाएका सशस्त्रका हवलदार अधिकारी र उपप्रधानमन्त्री खड्का। तस्बिर : नेपालखबर


दिनेश बुढा
जेठ २२, २०८० सोमबार १९:४, सुर्खेत

गत जेठ १६ गते बाँकेमा भएको कार दुर्घटनामा सशस्त्र प्रहरी बलका वरिष्ठ हवलदार सुवास अधिकारीले ज्यान गुमाए। 

सुवास गोरखाको पालुङटार नगरपालिका–३ (साविकको आँपपिपल गाविस) का स्थायी बासिन्दा थिए। सुवाससँगै कार दुर्घटनामा उप-प्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काकी भाइबुहारी डा. सञ्जु खड्काको पनि मृत्यु भयो। 

रक्षामन्त्री खड्काले काडमाडौँबाट सुर्खेतका लागि भाइबुहारीको कार चलाउने जिम्मा दिएर आफ्ना गाडी चालक सुवासलाई पठाएका थिए। 

खड्काले आफ्नो निजी चालकका रुपमा राखिएका सुवासलाई बुहारीको चालक बनाएर पठाएपछि उनमााथि प्रश्न उठेका छन्।

यो घटनाले भीआईपीहरुले आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई अन्य काममा खटाएर राज्यशक्तिको दुरुपयोग गरिएको खुलेको छ।

भाइबुहारीको दाहसंस्कारमा सहभागी भएका खड्काले गत ६ वर्षदेखि आफ्नो सुरक्षामा खटिएका सुवास बितेपछि उनका परिवारलाई अहिलेसम्म सम्पर्क गरेका छैनन्।

सुवासको शव १६ गते राति बाँकेबाट सशस्त्रले गोरखा लगेको थियो। सशस्त्रले सुवासको शव उनको घरमा १७ गते दिउँसो ३ बजे मात्रै पुर्‍याएको थियो। 

त्यहाँ पुर्‍याएको केही समयमा नजिकैको घाटमा दाहसंस्कार गरेर साँझ ७ बजेसम्म घर फर्केको पालुङ्टार नगरपालिका–३ का वडाअध्यक्ष तथा सुवासका दाइ नाता पर्ने रवीन्द्र अधिकारीले नेपालखबरलाई जानकारी दिए। 

यस्तै, सुवासका दाइ ईश्वर अधिकारीले भाइको दुर्घटनापछि सशस्त्र प्रहरीका केही व्यक्तिहरु घरमा आउने गरेको बताए। जसको सुरक्षामा खटिएका थिए, उनले अहिलेसम्म सम्पर्क गरेका छैनन्। 

सुवासको घरमा बुा बेलबहादुर, आमा कमला, श्रमती र दुई छोरी रहेका छन्। १३ वर्षीय छोरी अपेक्षा कक्षा ३ मा पढ्छिन् भने कान्छी सुपेक्षा कक्षा १ मा पढ्छिन्। 

सुवासले सशस्त्र प्रहरी बलमा जागिर गरेको १६ वर्ष पुगेको उनका बुबा बेलबहादुर अधिकारीले जानकारी दिए।

सुवासका एकजना दाइ छन्। दाजु इश्वर पनि नेपाली सेनाका रिटायर्ड हुन्। दाइ इश्वरले सुवास ५/६ वर्षदेखि पूर्णबहादुरसँगै रहेको बताए।

‘ठ्याकै थाहा भएन्। ६ वर्षजति भयो। उहाँ पूर्वगृहमन्त्री भएको नाताले पहिलादेखि नै सुरक्षमा सुवास खटिएको हो’, उनले भने, ‘पछुवा गाडी चालकका रुपमा गएको थियो। उहाँको गाडी चलाउने सशस्त्रकै अर्को चालक रिटायर्ड भएपछि उसलाई फुल चालक बनाएर राख्नुभएको हो।’

इश्वरले पहिला खड्काको पछुवा गाडी चलाउने सुवास त्यसपछि फुल चालकका रुपमा बसेकाले सशस्त्रले नै पठाएको हुनसक्ने जानकारी दिए।

‘पूर्व गृहमन्त्रीलाई पहिलादेखि नै यस्तो सुविधा रैछ, के कस्तो थियो हामीलाई थाहा भएन’, उनले भने, ‘पछिल्लो समय खिच्ने भनेर खिचियो, कसरी खिचियो त्यो आफ्नै हेटक्वार्टरबाट गएको त होला थाहा भएन हामीलाई।’

उनले अहिले आफ्नो समस्यामा भएकाले त्यसलाई सुल्झाएपछि काठमाडौं गएर घटनाबारे आधिकारिक जानकारी माग्ने बताए। इश्वरले घटना थाहा भएपछि काठमाडौँबाट रातारात घर पुगेको बताउँदै अहिलेसम्म कसैलाई सम्पर्क नगरेको खुलाए। 

‘घटनाबारे कतैबाट खबर आएको छैन। सशस्त्र प्रहरीले शव मात्रै ल्याएर आयो। सशस्त्र हाम्रो सम्पर्कमै छ’, उनले भने, ‘सशस्त्रबाट आइराख्नु भएको छ। तर, अन्य कुरा भएको छैन। मन्त्रीको तर्फबाट हालसम्म खबर आएको छैन, मान्छे त झनै आएका छैनन्।’

उनले सुवासको काजकिरिया सकिएपछि घटना के कसरी भएको हो? त्यसबारेको जवाफ खोज्ने बताए। 

‘हामीले अहिले कुनै योजना बनाएका छैनौं। हाम्रो त के हुन्छ र? उहाँ बहलवाला मन्त्री हो। तर, भाइले पाउने सबै सुविधा सजिलै आओस्, दुईजना बालबच्चा छन्। श्रीमती छिन्। उनीहरुलाई उचित राहत र सुविधा मिलोस्।’ 

यस्तै, दाजु नाता पर्ने वडाध्यक्ष रवीन्द्रले सुवासले उपप्रधानमन्त्री खड्काको पछुवा गाडी चलाउने गरेको बताए। 

‘मलाई थाहा पाएसम्म, म पाँच वर्ष वडा सदस्य काम गरेपछि एक वर्ष भयो वडाअध्यक्ष भएको, त्यो समयदेखि नै उसले खड्काको गाडी चलाउँथ्यो। खड्काको सुरक्षामा संगठनले खटाएर गएको होला।’

मन्त्रीज्यू बिजी हुनुहन्छ, हामी रमना खोज्दै छौँ : सशस्त्र 
यता सशस्त्र प्रहरी बलले यसअघि नेपालखबरसँग मन्त्रीहरुको सुरक्षाका लागि सशस्त्र प्रहरीबाट कुनै सुरक्षाकर्मी नपठाइएको बताएको थियो। तर, सोमबार कुरा गर्दै सशस्त्र प्रहरी बलका प्रवक्ता एसएसपी राजेन्द्र खड्काले सुवास अधिकारीको रमना खोजिरहेको बताए।

सुवासलाई खड्को सुरक्षाका लागि कहिले खटाइएको भन्ने प्रश्नमा उनले प्रष्ट जवाफ दिन सकेनन्। उनले नेपालखबरसँगको कुराकानीमा यो घटनाबारे जवाफ नदिइ आलटाल कोसि गरे। 

‘त्यहाँ हुँदैछ। रमना नभएर खोज्दैछु। मन्त्रीज्यू पनि बिजी–बिजी भएर बाहिर–बाहिर हुनु भयो। त्यो हुँदैछ। त्यो चाहिँ गर्दैछौँ। म डकुमेन्टमा छ कि हेर्दैछु’, उनले घुमाउरो शैलीमा घटनाबारे जवाफ यसरी दिए। 

खड्काले सुवासको रमाना पत्र हेर्दै गरेको बताउँदै केही भेटिएमा खबर गर्ने वचन पनि दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .