समाज


पेट्रोलियम पदार्थको अन्वेषणका लागि प्राविधिक टोली दैलेख आउँदै

पेट्रोलियम पदार्थको अन्वेषणका लागि प्राविधिक टोली दैलेख आउँदै

नेपालखबर
असार १२, २०७६ बिहिबार १२:४१,

दैलेखको पञ्चकोशी क्षेत्रमा रहेको पेट्रोलियम ग्यास उत्खननको सम्भावना प्रारम्भिक अध्ययनका लागि नेपाल र चिनियाँ विज्ञ र प्राविधिक टोली दैलेख आउने भएको छ। खानी तथा भूगर्भ विभागका प्राविधिकसहित ‘चाइना जियोलोजिकल सर्भे’को टोली दैलेख आउन लागेको हो।

दैलेखको श्रीस्थानलगायतका क्षेत्रमा रहेको पेट्रोलियम पदार्थ उत्खननका सम्भावना अध्ययन गर्न टोली दैलेख आउन लागेको हो। खानी तथा भूगर्भ विभागका महानिर्देशक डा. सोमनाथ सापकोटाका अनुसार नेपाल र चिनियाँ टोली आइतबार दैलेख आइपुग्नेछ। विभागका महानिर्देशक सापकोटाले आइतबार दैलेख पुगेर पेट्रोलियम अन्वेषण शुरु गरिने जानकारी दिए।

चीनले नेपालमा पहिलो पटक पेट्रोलियम पदार्थ अन्वेषणको काम शुरु गर्न लागेको उनको बताए। महानिर्देशक सापकोटाका अनुसार अन्वेषणका लागि झण्डै डेढ दर्जन चिनियाँ विज्ञ र प्राविधिक टोली नेपाल आइसकेका छन्। फरकफरक टोली बनाएर विभिन्न स्थानमा अन्वेषणको काम थालनी गरिने महानिर्देशक सापकोटाले जानकारी दिए। ‘हामीले शुरुमै आएर उत्खनन् गर्ने होइन्’, महानिर्देशक सापकोटाले भने, ‘अबको अन्वेषणले पेट्रोलियम खानीबाट व्यावसायिक उत्पादन गर्न सकिने वा नसकिने भन्ने पहिल्याउने छ।’ व्यावसायिकरुपमा उत्पादन गर्न सम्भव भए कुन क्षेत्रमा उत्खनन् गर्दा सहज हुन्छ भन्नेबारे अध्ययन पनि गरिने उनको भनाइ छ।

उत्खनन लागतअनुसारको व्यावसायिक उत्पादनको सम्भाव्यता यकिन गरिने विभागका महानिर्देशक सापकोटाले बताए। दैलेखको पादुका क्षेत्रमा कच्चा तेल निस्किएर बगिरहेको छ। दैलेखको श्रीस्थान जमिनमुनिबाट निस्किएको ग्यास अखण्ड दीपका रुपमा मन्दिरमा बाल्ने गरिएको छ। त्यो करिब ३०० वर्षदेखि बलिरहेको स्थानीय बताउँछन्। दैलेखकै नाभिस्थान, धुलेश्वर र पादुका क्षेत्रमा अहिले पनि बाहिरी भागमै कच्चा पेट्रोलियम पदार्थ देखिने गरेको छ। विभागका महानिर्देशक सापकोटा ती सबै स्थानमा अन्वेषणको गरिने बताए।

‘नेपाल–चाइना पेट्रोलियम ग्यास तथा तेल स्रोत सर्भे’ का लागि गत फेब्रुअरी २८ मा भूगर्भ विभाग र चाइना जियोलोजिकल सर्भेबीच सम्झौता भएको थियो। यो सम्झौताको अवधि तीन वर्षको छ। चिनियाँ र नेपालको विज्ञ र प्राविधिक टोलीले पहिलो चरणमा दैलेखलगायत तानसेनमा समेत भौगर्भिक तथा पेट्रोलियम सर्भेसहित दैलेखमा ड्रिलिङ साइट पहिचान गर्ने विभागका महानिर्देशक सापकोटाले बताए।

उनका अनुसार दोस्रो चरणमा दैलेखमा ड्रिलिङ कार्य सम्पन्न गरिनेछ। तेस्रो चरणमा समग्र नेपालमा पेट्रोलियम भौगर्भिक अवस्थाबारे अध्ययन भई सर्भे प्रतिवेदन प्राप्त हुने उनको भनाइ छ। ‘तीन वर्षमा हामीले तोकिएको क्षेत्रमा पेट्रोलियम खानीको अन्वेषण गरेर व्यावसायिक सम्भाव्यता छ÷छैन भन्ने टुंगो लगाउनेछौँ’, विभागका महानिर्देशक सापकोटाले भने। दैलेखबाट प्रदेश र संघमा निर्वाचित सांसद र स्थानीयवासीले पनि दैलेखमा रहेको पेट्रोलियम ग्यास उत्खनन गर्न सरकारलाई आग्रह गर्दै आएका थिए।

चार वर्षपछि अन्वेषण शुरु

नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको चरम संकट भएसँगै नेपालमा खानी उत्खननका आवाज उठेको थियो। लगत्तै तत्कालीन सरकारका उद्योगमन्त्री सोमप्रसाद पाण्डेसहितको चिनियाँ टोली २०७२ पुसमा दैलेख आइपुग्यो। पेट्रोलियम पदार्थको सम्भाव्यता अध्ययन गर्न दैलेख आएका मन्त्री पाण्डेले दैलेखको श्रीस्थानमा पुगेर पेट्रोलियम ग्यास उत्खनन्को सम्भावना कार्यको शुरुआत गर्ने उद्घोष गरेका थिए।

त्यसबेला चीनबाट आएको छ सदस्यीय चाइना जियोलोजिकल सर्भेको टोलीले सम्भाव्यता अध्ययन गरी विभिन्न स्थानमा प्राकृतिक ग्यास रहेको पुष्टि गर्दै सरकारलाई प्रतिवेदन बुझाएको थियो। चीनले गरेको प्रारम्भिक अध्ययनबाट उक्त क्षेत्रमा लिक्विफाइड पेट्रोलियम (एलपी) ग्यासको खानी रहेको पुष्टि भइसकेको छ। विसं २०७२ चैतमा यही कार्यका लागि चीन र नेपालबीच प्रधानमन्त्रीस्तरमा द्विपक्षीय समझदारी भइसकेको थियो तर सरकारले गत माघमा मात्रै चीनलाई पेट्रोलियम तथा ग्यास खानीबारे विस्तृत अन्वेषण गर्न दिनेसम्बन्धी परियोजना स्वीकृत गरेको थियो।

विकासको कोसेढुंगाः सांसद शर्मा

दैलेख निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सांसद रवीन्द्रराज शर्माले दैलेखको दुल्लु नगरपालिका र भैरवी गाउँपालिका क्षेत्रमा रहेको पञ्चकोशी क्षेत्रमा रहेको पेट्रोलियम ग्यास उत्खनन भए मुलुकको विकासमा कोसेढुंगा सावित हुने बताएका छन्। सांसद शर्माले दैलेखमा पेट्रोलियम ग्यास उत्खनन्को सम्भावना प्रारम्भिक अध्ययनपश्चात् व्यावसायिक उत्पादन गर्न सकिने भए तत्काल उत्खननको कार्य शुरु गर्न पहल गरिने राससलाई बताए। उनले मन्त्री तथा पूर्वमन्त्रीसहित सांसदको टोली पनि दैलेख आउने कार्यक्रम तय भएको बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad