समाज


काठमाडौंमा सुरु भयो सम्पदा घुम्ती बस सेवा

काठमाडौंमा सुरु भयो सम्पदा घुम्ती बस सेवा

नेपालखबर
जेठ ९, २०८० मंगलबार १६:४५, काठमाडौँ

काठमाडौं उपत्यकामा रहेका प्रमुख सम्पदा क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले सम्पदा घुम्ती बस सेवा सुरु गरिएको छ। 

संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालय र नेपाल पर्यटन बोर्डले साझा यातायात, ललितपुरको सहकार्यमा विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाहरु–पाटन दरबार स्क्वायर, काठमाडौं दरबार स्क्वायर, नारायणहिटी दरबार संग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भूसम्म सहज पहुँच हुने गरी सम्पदा घुम्ती बस सेवा परीक्षणका रुपमा सञ्चालन गरिएको हो। 

संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री सुदन किराती र ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले ललितपुरबाट सम्पदा घुम्ती बस सेवाको सुरुवात गरे। 

बस सेवाको उद्घाटन गर्दै मन्त्री किरातीले यो बस सेवा सञ्चालनले काठमाडौं उपत्यकामा रहेका प्रमुख सम्पदा क्षेत्रहरुको प्रवर्द्धन हुने अपेक्षा गरिएको बताए। 

उनले उपत्यकाको पर्यटन प्रर्वद्धनको लागि यो एउटा सानो प्रयास भएको बनाउँदै यसको परिक्षण पश्चात सेवा विस्तार गरिनेसमेत जानकारी दिए। 

सम्पदा बसमा पर्यटन मन्त्री किरातीले पुल्चोकदेखि नारायणहिटी दरबारसंग्रहालयसम्म यात्रासमेत गरेका थिए।

शुभारम्भ कार्यक्रममा ललितपुर महानगरपालिका मेयर महर्जनले पर्यटन प्रर्वद्धनका लागि सम्पदा घुम्ती बस सेवा सहयोगी हुने बताए। 

उनले सबैको समन्वय र सहकार्यमा यसलाई सफल बनाउनु पर्ने समेत बताएका छन्। 

पर्यटन बोर्डका वरिष्ठ निर्देशक वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले उपत्यकाको पर्यटन प्रर्वद्धनका लागि बोर्डले साझासँग सहकार्यमा यो सेवा सुरु गरेको जानकारी दिए। 

साझा यातायातका कार्यबाहक अध्यक्ष सुशील प्याकुरेलले सम्पदा घुम्ती बसको यातायात रुटमा दैनिक २ वटा विद्युतीय बसहरु सञ्चालन हुने र यसको सफलताको आधारमा अरु बस थपिने बताए। 

पर्यटन बोर्डका अनुसार सम्पदा घुम्ती बस विहान ८ बजेदेखि बेलुकी ६ बजे सम्म हुनेछ। जसअनुसार बस जाँदा साझा यातायात, पुल्चोक टुरिष्ट बसपार्क (ललितपुर महानगरपालिका नजिक),महाकाल मन्दिर, आर्मी हस्पिटल, जमल, दरबारमार्ग ,नारायणहिटी दरबार संग्रहालय, कमलपोखरी, पशुपतिनाथ मन्दिर स्थित टुरिष्ट बसपार्क, गौशाला, चाबहिल चौक, तारागाउँ संग्रहालय हुँदै बौद्ध पुग्ने छ। 

यस्तै फर्किँदा तारागाउँ संग्रहालय, बौद्ध,चावहिल चोक,नारायण गोपाल चोक,गोंगबु बसपार्क, स्वयम्भु भगवान पाउ, छाउनी संग्रहालय, परोपकार (कालीमाटी) कालीमाटी चोकबाट बल्खु चोक, रिङरोड हुँदै एकान्तकुना, सदर चिडियाखाना, जावलाखेल चोक हुँदै साझा यातायात, पुल्चोक आउने बोर्डले जानकारी दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .