समाज


कोरियाबाट फर्केर गाउँमै करोड लगानीमा बाख्रापालन

कोरियाबाट फर्केर गाउँमै करोड लगानीमा बाख्रापालन

नेपालखबर
पुस २६, २०७६ शनिबार ८:१०,

गाउँमा सम्भावना देख्ने युवा निकै कम देखिन थालेका छन्। गाउँघरमा रहेका युवा पनि अवसर नभएको भन्दै निराशाबाट ग्रसित छन्। तर, दुर्गम गाउँमा यस्ता युवा पनि छन् जो युवाहरूको तीव्र विदेश पलायन देखेर पनि गाउँमै केही गर्ने दृढ अठोटमा छन्।

तीनैमध्येका एक उदाहरणीय पात्र हुन् बागलुङको गलकोट नगरपालिका–१ दुदिलाभाटीका कुँवर दम्पती। यो जोडीले गाउँमै करोड लगानी गरेर बाख्रापालन गरेको छ। दुदिलाभाटीका गमबहादुर कुँवर र निरु कुँवर अहिले यस व्यवसायमा लागेर मनग्य आम्दानी गर्न थालेका हुन्। विसं २०७४ देखि पाँच÷छ वटा बाख्राबाट शुरु गरेको व्यवसाय बढेर अहिले १०० को हाराहारीमा पु¥याएका छन्।

बाउबाजेको पालादेखि नै बाख्रा पाल्दै आएकाले निर्वाहमुखीलाई आफूले व्यावसायिक पेशा बनाएको कुँवर दम्पती बताउँछ। आर्थिक अवस्था कमजोर भएकै कारण कृषि पढेर कोरिया पुगेका गमबहादुरले पाँच वर्ष विदेशमै बिताए। कोरियामा रहँदा सिकेको सीपलाई नेपालमै प्रयोग गर्ने उद्देश्यका साथ नेपाल आएका कुँवर अहिले यस पेशामा नै रमाएका छन्।

विदेशमा स्रोत साधनको अभाव भए पनि करोडौँ कमाएको देखेकाले नेपालमा भएका स्रोत साधनको प्रयोग मात्रै गरेको कुँवरले बताए। गाउँमा घर पातलो हुने र जग्गा जमीन धेरै भएपछि पशुपालन गर्न समस्या नहुने भएकाले पनि यस व्यवसायमा लागेको उनले बताए। ‘जागिर खान पनि भौँतारिएँ, पछि विदेश पनि गएँ, त्यहाँ पुगेपछि धेरै देखेँ भोगेँ”, कुँवरले भने, ‘कृषि पढेकाले जागिरमा भन्दा व्यवसाय गर्न मन लाग्यो, गाउँघरमा घाँसको समस्या छैन, चरन र स्रोत साधनको ठूलो समस्या भएकाले गाउँमै केही उदाहरण देखाउँछु भनेर बाख्रापालनमा लागेको हूँ।’

अहिले कुँवरको फार्ममा १०० भन्दा बढी बाख्रा छन्। दुई वटा बोयर जातको बोका पनि छन्। एउटा बोकालाई मात्रै चितवनबाट रु दुई लाख ५० हजारमा किनेर ल्याएका कुँवरले स्थानीय खरी जातका बाख्रालाई बोयर क्रस गर उन्नत जातको बाख्रा उत्पादन गर्ने गरेको बताए। उत्पादित बाख्रा एवं मासुको बजारीकरणका लागि कुनै पनि समस्या नभएको कुँवरले बताए। कुँवरकी श्रीमती निरुले पनि उनलाई सघाउछिन्। ‘बाख्रा उत्पादन भएपछि यहाँ बजारको पनि समस्या छैन’, निरुले भनिन्, ‘बरु काम गर्ने जनशक्ति र इच्छाशक्तिको अभाव देखिन्छ।’

गाउँमा नै कुँवर दम्पतीले छ जनालाई आकर्षक तलबसहित रोजगारी दिएको छ। घाँस काट्ने एवं बाख्राको स्याहारसुसार गर्ने कामदारलाई मात्रै रु २० हजारभन्दा बढी मासिक तलब दिइरेका छन्। कुँवरको फार्ममा काम गर्दै आएका वेदबहादुर भुजेलले आफू यही काम गर्दा सन्तुष्ट रहेको बताउछन्। ‘विदेश जान परेको छैन, गाउँमै रोजगारी पाउँदा खुशी छु’, भुजेलले भने, ‘अर्काको देशमा गाली अपमान सहनुभन्दा गाउँ सेरोफेरोमै यसरी काम गरेर घर परिवारमा दुःख बिरामी पर्दासमेत सहयोग गर्न सकिन्छ, खान बस्नसहित रु २० हजार तलब बुझ्ने गरेको छु।’

विदेश नभई नेपालमा पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण अहिले कुँवर दम्पती बनेको छ। यसका लागि गलकोट नगरपालिका–१ दुदिलाभाटीको वडा कार्यालयले पनि विभिन्न समयमा सहयोग गर्दै आएको छ। दुदिलाभाटीका वडाध्यक्ष नेत्रबहादुर बुढाथोकीले दुदिलाभाटीमा हरेक परिवारले बाख्रापालन गरेकाले हरेक फार्मलाई दर्ता प्रक्रियामा लग्ने बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad