ad ad

समाज


कोशीको अधिकांश जिल्लामा फैलियो ‘लम्पी स्किन’

कोशीको अधिकांश जिल्लामा फैलियो ‘लम्पी स्किन’

नेपालखबर
बैशाख २६, २०८० मंगलबार १९:४२, काठमाडौँ

कोशी प्रदेशको अधिकांश पहाडी जिल्लामा गाई गोरुमा लाग्ने ‘लम्पी स्किन’ नामक सङ्क्रामक रोगको महामारी फैलिएको छ। इलाम र झापा जिल्लामा मात्रै चार सय ६२ वटा पशु रोग सङ्क्रमणबाट मरेका छन्।
    
इलाम, उदयपुर, धनकुटा, सङ्खुवासभालगायतका पहाडी जिल्लामा यसको प्रकोप फैलिरहेको कोशी प्रदेश, उद्योग, कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ पशु चिकित्सक डा दीपा दियालीले बताइन्। यो रोग लागेको पशुमा उच्च ज्वरो आउने, झोक्राउने, खाना अरुचि हुने र दूध कम दिने लक्षण देखा पर्दछ। छालामा पाँच सेन्टिमिटरसम्मको गोलो गिर्खा र घाउ देखा पर्नु यसलाई चिन्ने सजिलो लक्षण हो।

नाक र मुखबाट तरल पदार्थ काढ्ने ‘लम्पी स्किन’ बाट सङ्क्रमित पशुहरू अन्त्यमा मर्छन्। मोरङ जिल्लामा तीन वर्षअघि नेपालमा पहिलोपल्ट देखा परेको यो रोगको उत्पत्ति अफ्रिकामा १० वर्ष भएको मानिएको छ। क्याप्री पक्स नामक भाइरसको सङ्क्रमणबाट लाग्ने यो रोगबाट बचाउन विश्वभर खोप लगाउने प्रचलन रहेको पशु चिकित्सक डा दियालीले बताइन्। नेपालमा भने निजी क्षेत्रले मात्र यो खोप बेच्ने गरेको छ।

झापा र इलामका २७ हजार पशुमा सङ्क्रमण
इलाम जिल्लाका दशै वटा र झापाका १५ वटै पालिकामा ‘लम्पी स्किन’ को प्रकोप देखा परिसकेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाका प्रमुख शीतल भट्टराईले बताइन्। केन्द्रलाई झापा र इलाम दुवै जिल्ला हेर्ने जिम्मेवारी तोकिएको छ।

उनका अनुसार इलाममा २१ हजार गाईगोरु ‘लम्पी स्किन’ बाट सङ्क्रमित रहेको र तीन सय ४६ वटा गाईगोरु यही रोगबाट मरिसकेका छन्। झापामा छ हजार चार सय ९५ वटा गाईगोरु यसबाट प्रभावित भएकोमा एक सय १६ वटा पशु मरिसकेका छन्। इलामको देउमाई नगरपालिका र झापाको बाह्रदशी गाउँपालिकामा सबैभन्दा बढी गाईगोरु रोगबाट प्रभावित भएको पाइएको छ। देउमाईमा १० हजार पशुमा रोग सङ्क्रमण भइसकेको र तीमध्ये दुई सय ५० वटा पशु मरिसकेको उनले जानकारी दिइन्।

झापाको बाह्रदशी गाउँपालिकामा एक हजार दुई सय गाईगोरु सङ्क्रमित भएकोमा ७० वटा मरेको बताइएको छ। झापाको गौरादहमा तीन हजार, कचनकबलमा एक हजार, दमकका सात सय र शिवसताक्षीमा दुई सय वटा गाईगोरुमा ‘लम्पी स्किन’को सङ्क्रमण देखा परेको छ।

इलामको इलाम नगरपालिकामा तीन हजार दुई सय, माङ्सेबुङमा तीन हजार, सूर्योदयमा दुई हजार तीन सय, माइजोगमाईमा एक हजार पाँच सय वटा गाईगोरुमा यो रोगको सङ्क्रमण देखिएको छ।

‘लम्पी स्किन’ रोग लागिसकेपछि भरपर्दो उपचार छैन। रोगी पशुको र्‍याल, शरीरबाट निस्कने तरल पदार्थ र लामखुट्टे तथा भुसुनाको टोकाइबाट एक पशुबाट अर्को पशुमा रोग सङ्क्रमण हुने वरिष्ठ पशु चिकित्सक दियालीले बताइन्।

रोग रोकथाम र नियन्त्रणका लागि सरकारी तहबाट जनचेतना जगाउनेबाहेक अरु उपाय अवलम्बन गरेको पाइएको छैन। इलाममा हालै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाका तर्फबाट ‘लम्पी स्किन’ बाट पशुहरूलाई जोगाउने विषयमा किसानहरूसँग सचेतनामूलक गोष्ठी गरिएको थियो। गोष्ठीमा रु ६० हजार मूल्य बराबरको औषधि वितरण गरिएको केन्द्रकी प्रमुख भट्टराईले जानकारी दिइन्।

‘गोठको सरसफाइ राम्ररी गर्न र रोगबाट मरेका पशुलाई सुरक्षितरूपमा छिटो गाड्ने व्यवस्था मिलाउन किसानलाई अपिल गरेका छौँ’, भट्टराईले भनिन्, ‘खोप लगाउँदा रोगबाट गाईवस्तुलाई जोगाउन सकिन्छ।’

झापा र इलामका पशुपालक किसानहरूले ‘लम्पी स्किन’ पशुहरूलाई जोगाउन आफ्नै खर्चमा खोप लगाउन थालेका छन्। रोग लागिसकेका गाईवस्तुलाई गोठ सार्दा र बिक्रीका कारण नयाँ ठाउँमा पुग्दा ‘लम्पी स्किन’ को सङ्क्रमण टाढासम्म छिटो गतिमा फैलिरहेको पशु विज्ञहरू बताउँछन्।

कोशी प्रदेशका अधिकांश जिल्लामा यसको प्रकोपले महामारीकै स्वरूप लिइसक्दा समेत सरकारीस्तरबाट नियन्त्रणका लागि ठोस कार्यक्रम आउन नसकेको इलामको पशुपतिनगरका कृषक भीमबहादुर भण्डारीले बताए। सरकारले रोगको रोकथाममा विशेष सहयोग गर्नुपर्ने बताउँदै उनी भन्छन्, ‘पहाडी जिल्लामा गाईभैँसी पालेर जीविका धानिरहेका छौँ, भटाभट रोगले मर्न थालेपछि किसानले ठूलो क्षति व्यहोर्नु परिरहेको छ।’

कोशी प्रदेश, उद्योग, कृषि तथा सहकारी मन्त्रालयकी वरिष्ठ पशु चिकित्सक डा दियालीले रोगबाट प्रभावित र मरेका पशुको विवरण मागिए पनि विभिन्न जिल्लाबाट मन्त्रालयमा विवरण आउन बाँकी नै रहेको बताइन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .