ad ad

समाज


जसले ‘बाजेको सेकुवा’ विश्वव्यापी बनाए, गुमनाम गए

जसले ‘बाजेको सेकुवा’ विश्वव्यापी बनाए, गुमनाम गए

दीपक खरेल
पुस २४, २०७६ बिहिबार १२:५९,

उनले काठमाडौंबासीको जिभ्रोमा खसीको सेकुवाको यस्तो स्वाद बसाइ दिए, त्यो स्वाद चार दशकमै विश्वब्यापी बन्यो। काठमाडौं र ललितपुर हुँदै अमेरिकासम्म बिस्तार भएको यो स्वाद चखाउने झापाका दीनानाथ भण्डारीले मंसिर ६ मा काठमाडौंको ह्याम्स अस्पतालमा गुमनाम मृत्युवरण गरे।

उनी रोगी त थिए नै तर आफूले जीवनभर लगाएर आर्जेको बाजेको सेकुवा ‘ब्रान्ड’ मा सुन तस्करीको धब्बाले उनलाई झनै गाल्यो। उच्च रक्तचाप र मधुमेहले उनलाई ७५ वर्षमै परलोक पु¥यायो। जीवनका अन्तिम क्षणमा उनले एक्लो छोराको समेत साथ पाउन सकेनन्।

छोरा चेतन अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को ‘मोस्ट वान्टेड’ सूचीमा भएकाले बुवाको अन्तिम कर्म गर्न काठमाडौं आउन सकेनन्। पशुपति आर्यघाटमा छोरी गीताले उनको पार्थिव शरीरमा दागबत्ती दिइन।

बुबा दीनानाथसँग छोरा चेतनाथ भण्डारी।

बुबाको मृत्युको डेढ महिनापछि सोमबार (२१ पुस २०७६) मा मोरङ जिल्ला अदालतमा हाजिर भएका चेतन भण्डारी अहिले बाबुको काजक्रियामा छन्। उनलाई मोरङ जिल्ला अदालतले १० लाख धरौटीमा छाडने आदेश दिएको छ।

मुख्य न्यायाधीश मेदनीप्रसाद पौडेलले भण्डारीलाई १० लाख रुपैयाँ धरौटीमा छाडने आदेश दिएका थिए। उनी हाजिर भएकै दिन अदालतले उनको बयान सकेर यस्तो आदेश गरेको थियो। र, सोही दिन उनी धरौटी बुझाएर रिहा भएका थिए। इन्टरपोलको सूचीमा रहे पनि भण्डारीले सजिलै विमानस्थल पार गरेर मोरङसम्म पुगेका थिए।

मोरङका सनम शाक्यको हत्या र ३ हजार ८ सय किलो सुन तस्करी प्रकरणमा मुछिएपछि चेतन भण्डारी फरार भएका थिए। २०७४ चैत २० मा सरकारले उच्च स्तरीय अनुसन्धान टोली गठन गरेपछि भण्डारी समेत तस्करीमा संलग्न रहेको खुलासा भएको थियो।

सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा रहेको अनुसन्धान टोलीले चेतनको नेतृत्वमा रहेका बाजेको सेकुवाका काठमाडौं र ललितपुरमा रहेका आउटलेटमा शिलबन्दी गरेको थियो।
सर्वोच्च अदालतको आदेशले बाजेको सेकुवाका आउटलेट पुनः सञ्चालनमा आए पनि पहिला जस्तो चल्न सकेनन्।

वि.सं. २०३५ मा झापाबाट काठमाडौं घुम्न आएका दीनानाथ भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरको खाली चौरबाट सुरु गरेको सेकुवा पोल्ने व्यवसायले २०७४ चैतमा न्युयोर्कको अति व्यस्त र महँगो क्विन्समा शाखा बिस्तार गर्दै नेपाली ब्रान्ड ‘बाजेको सेकुवा’ को अन्तर्राष्ट्रियकरण गरेको थियो। तर, अमेरिकासम्म पुगेको बाजेको सेकुवा ब्रान्डको लगानीमाथि मोरङ जिल्ला अदालतले सवाल उठाएपछि एकाएक स्वादिलो बाजेको सेकुवाको स्वाद ग्राहकहरुका लागि समेत टर्रो बनेको हो। ‘बाजेको सेकुवा’ ब्रान्डको ब्यानरमा काठमाडौं, पोखरा, चितवन र रुपन्देहीमा सुरु भएका रेष्टुरेन्ट व्यवसाय समेत स्थापित नहुँदै यो मुद्दा अघि बढेको थियो।

अनुसन्धान टोलीले ‘बाजेको सेकुवा’ नामक चेन रेस्टुरेन्टमा सुन तस्करीको संगठित अपराधबाट आर्जित धन लगानी भएको र मिसाएकोले व्यवसाय रोक्का राख्ने मोरङ जिल्ला अदालतको आदेशसँगै बुधबार (३० जेठ २०७५) मा सरकारी समितिले छापा मारेर शिलबन्दी गरेको थियो।

संगठित अपराधका प्रतिवादी चेतन भन्ने चेतनाथ भण्डारीको पूर्ण स्वामित्व रहेका पाँच र उनका नातेदारले सञ्चालन गरेको एक गरी ६ स्थानका ‘बाजेको सेकुवा’ रेस्टुरेन्टमा सरकारी समितिले शिलबन्दी गरेको थियो। समितिले संगठित अपराध निवारण ऐन २०७० को धारा १५ र १६ अनुसार सम्पत्ती रोक्का राख्ने अधिकारको प्रयोग गरेको हो।

समितिको अनुसन्धानमा तीन हजार आठ सय किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डमा ‘बाजेको सेकुवा’ का सञ्चालक चेतनको संलग्नता रहेको प्रमाण फेला परेको थियो। समितिले दुवै प्रकरणमा प्रतिवादीका रुपमा उनीबिरुद्ध मोरङ जिल्ला अदालतमा २०७५ बैशाख १८ मा मुद्दा दर्ता गरेको थियो। सरकारले घटनाको अनुसन्धान सुरु गरेयता चेतन सम्पर्कमा थिएनन्। उनी समितिको सम्पर्कमा पनि आएनन्। अदालतमा हाजिर पनि भएनन्। यसले उनको संलग्नतालाई पुष्टि गरेको थियो।

सरकारले चैत २० मा सुन तस्करी र सनम शाक्य हत्याकाण्डको अनुसन्धानका लागि गृहका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा समिति बनाइरहँदा नेपाली ब्रान्ड ‘बाजेको सेकुवा’ ले अमेरिकाको न्युयोर्कस्थित क्वेन्समा बाजेको सेकुवा ब्रान्डमा हिमालयन ग्रिल खोल्ने अन्तिम तयारी गरिरहेको थियो। अमेरिकामा शाखा बिस्तारका लागि स–परिवार गएका चेतन उतै रहँदै नेपालमा पक्राउ परेका प्रतिवादीहरुले उनको नाम पोलेका थिए।

‘बाजेको सेकुवा’ का काठमाडौं र ललितपुरका शाखा ‘सुन तस्करीको मुख्य जक्सन थिए। प्रतिवादी भण्डारीकै उपस्थितिमा बैठक र योजना बन्ने गरेको तथ्य सरकारी अनुसन्धान टोलीले फेला पारेको थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरको खाली चौरबाट सुरु भएको ‘बाजेको सेकुवा’ खसीको मासुको परिकारका पारखीले जुराएको नाम थियो। त्यो नाम चार दशकमा सात समुन्द्र पारको देशमा चर्चा भइरहदा यता त्यसका मुख्य सञ्चालक जघन्य अपराधमा प्रहरीको खोजीमा थिए।

बुवा दीनानाथ भण्डारीले सुरु गरेको व्यवसाय विश्वव्यापी त भयो तर त्यसमा गरिएको लगानी संगठित अपराधबाट आर्जेको धन भएकाले अनुसन्धान गर्न मोरङ जिल्ला अदालतले दिएको आदेशले चेतनको व्यवसायिक उडान आकाशमै रोकिएको छ।

२०३५–४० को बीचमा भण्डारीले विमानस्थल अघिको चौरमा पोलेको खसीको मासु, भुटन, चिउरा, भुजा र अचार बेच्न थालेका थिए। यहीबाट उनको व्यवसाय सुरु भएको थियो।

खोटाङमा जन्मिएर झापा जंगल फडानी गरेर बसोबास गरेका दीनानाथ र उनको परिवारले ३५ वर्षमा आर्जेको करोडौंको सम्पत्ती अब सरकारी अनुसन्धानको दायरामा आएको छ।
विमानस्थल कर्मचारी र भन्सारका कर्मचारी नै सुरुवातमा दीनानाथका ग्राहक थिए। सफा, स्वादिलो र सस्तो मांसाहारी खाजाका लागि ‘एक कान दुई कान मैदान’ भएपछि उनको छाप्रोको ठेगाना नै ‘बाजेको सेकुवा’ बनेको थियो।

दीनानाथलाई छोरा चेतनाथले समेत सघाउन थाले। व्यवसाय बिस्तार हुँदै निःशुल्कको सरकारी जग्गाबाट विमानस्थल अघिको भाडा जग्गामा पुगेको थियो।

२०७१ देखि उकालो लागेको ‘बाजेको सेकुवा’ ले काठमाडौंका प्राइम लोकेसन’ मा आधुनिक साजसज्जासहित शाखा बिस्तार गरेको थियो। यही समयावधिमा ‘बाजेको सेकुवा’ ब्रान्डमा मसला उद्योग स्थापित भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .