ad ad

राजनीति


सञ्चारमन्त्रीलाई गगन थापाको व्यंग्यः विधेयकको दफा दफा पढेको छु, नपढेको भनेर हेप्नी? (भिडियो)

सञ्चारमन्त्रीलाई गगन थापाको व्यंग्यः विधेयकको दफा दफा पढेको छु, नपढेको भनेर हेप्नी? (भिडियो)

नेपालखबर
पुस २४, २०७६ बिहिबार १२:४५,

नेपाली कांग्रेसका युवा नेता गगन थापाले काम गरेर जनताकोे मन जित्न नसकेपछि आलोचनाबाट जोगिन सूचना प्रविधि विधेयक ल्याएको आरोप लगाएका छन्।

नेपाल विद्यार्थी संघले नागरिक स्वतन्त्रता नियन्त्रण गर्ने विधेयकहरु विरुद्ध विहीबार काठमाडौंको माइतीघर मण्डलामा गरेको सभालाई सम्बोधन गर्दै उनले कमजोर सरकारले कानून बनाएरै जनताको मुख थुन्ने प्रयास गरेको दाबी गरे। उनले विधेयक नपढीकनै विरोध गरिएको भन्ने विभागीय मन्त्रीको भनाई प्रति पनि आपत्ती जनाए।

विधेयकका सबै दफा दफामा आफू छलफल गर्न तयार रहेको भन्दै उनले छलफल कहाँ गर्ने भनी प्रश्न गरे। उनले विधेयकका दफा दफामा छलफल गर्न विभागीय मन्त्रीलाई चुनौती नै दिए। उनले सूचनाको हकको अधिकार कुण्ठित गर्ने हो भने नेपालको संविधान क्युवा र उत्तर कोरियाको संविधान भन्दा भिन्न नरहने दाबी पनि उनले गरे।

उनले भने, ‘यो विधेयकको धारा धारामा दफा, दफामा छलफल गर्न तयार छौं। माननीय मन्त्री ज्यूले भन्नुभएछ, विधेयक नपढीकन आयो। यो विधेयकमा कहाँ छलफल गर्ने मन्त्री जी? सिंहदरबार गर्ने हो? संसदमा गर्ने हो? माइतीघर मण्डलामा गर्ने हो? कि तिम्रो कार्यालय धुमबराही मा गर्ने हो? प्रत्येक दफा दफामा, शब्द शब्दमा छलफल गर्न तयार छु। नपढीकन आएको होइन। पढेर, बुझेर आएको। हेप्ने हाम्लाई नपढीकन आयो भन्ने?’

 

उनले प्रधानमन्त्री कमजोर भएर सरकारका कामकारवाहीप्रति सचेत जनताको मुख थुन्न गलत नियतका साथ विधेयक ल्याईएको दाबी गरे। सामाजिक सञ्जालमा आएका टिप्पणी र आलोचना सहने हिम्मत नभएपछि सरकारले जनताको बोल्न पाउने अधिकार कुण्ठित गर्ने नियत साथ विधेयक ल्याएको आरोप पनि उनले लगाए।

उनले भने, ‘प्रधानमन्त्री बलियो भएर आएको होइन। प्रधानमन्त्री लुते भएर आएको। प्रधानमन्त्री कायर भएर आएको हो यो। अस्वस्थ्य प्रधानमन्त्री हुनुहुन्छ। म स्वास्थ्य लाभको कमना गर्छु।’

विधेयकमा आवश्यक परिमार्जन गरेको वहानामा मस्यौदामा ‘निरन्तर’ भन्ने शब्द मात्रै थप्ने काम भएको तर्क उनले गरे।

विरोधसभा अघि विद्यार्थीले अभिव्यक्ति स्वतन्त्रता हनन गर्ने गरि विधेयक ल्याईएको भन्दै सूचना प्रविधि विधेयक खारेजीको माग गर्दे नाराबाजी सहित र्याली गरेका थिए। नेपाली कांग्रेसले सूचना प्रविधि विधेयक लगायत विवादास्पद विधेयकहरु फिर्ता गर्न माग गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .