ad ad

समाज


न्युरोसर्जन डा. लोहनीको पुस्तक ‘सोमहोम’ र ‘जीवन वृक्ष’ लोकार्पण

न्युरोसर्जन डा. लोहनीको पुस्तक ‘सोमहोम’ र ‘जीवन वृक्ष’ लोकार्पण

नेपालखबर
बैशाख २२, २०८० शुक्रबार १९:२९, काठमाडौँ

डा सुवास लोहनीद्वारा लिखित पुस्तक ‘सोमहोम’ र ‘जीवन वृक्ष’को लोकार्पण गरिएको छ। आज यहाँ आयोजित एक कार्यक्रममा स्वर्गीय न्यूरोसर्जन डा लोहनीद्वारा लिखित पुस्तक आमा सुभद्रा लोहनी र बुबा घनराज लोहनीले लोकापर्ण गरे।

पुस्तकको लोकापर्ण गर्दै बुबा घनराज लोहनीले भने, ‘२०७८ सालको बडादसैँको अवसरमा उनले यो पुस्तक आफैँले प्रकाशन गरी हामीलाई उपहार दिने योजना थियो। उनी रहेनन्, हामीले आज प्रकाशन गरेर लोकपर्ण गरेका छौँ।’

उनले दुई पुस्तक सोमहोम र जीवन वृक्षबारे प्रकाश पार्दै भने, ‘सोमहोममा आध्यात्मिक पक्षको सटिक विश्लेषण गरिएको छ। जीवन वृक्षमा योगसाधना, चेतना र मानव अस्तित्व एवम् विश्व बन्धुत्वको भावना सचित्र वर्णन गरिएको छ।’

उनका अनुसार लेखकले पुस्तकमा धार्मिक अतिक्रमणको खरो आलोचना गरेका छन्।

‘धार्मिक अतिक्रमणलाई निस्तेज नगरे हाम्रो अस्तित्वमा रहँदैनौँ, भन्ने उनको चिन्ताको विषय थियो। त्यही सेरोफेरोमा उनले यी दुई पुस्तक लेखेका थिए’, उनले भने।

लोकार्पण कार्यक्रममा पुस्तकबारे डा. हरिप्रसाद पोखरेलले आध्यात्मिक र आधुनिक विज्ञानबीचको सेतु बन्न डा लोहनीको पुस्तकले सृजनात्मक भूमिका खेल्ने बताए।

उनले भने, ‘डा लोहनीले आध्यात्मलाई पृथक शैलीमा विश्लेषण गर्न खोज्नुभएको छ। उहाँका विचारलाई हामीले उत्खनन गर्न आवश्यक छ।’

डा जगतमान गुरुङ्ले शुभकामना सन्देशमा जीवन वृक्ष पुस्तक दर्शन र कलाको अनुपम संयोजन भएको बताएका छन्। कार्यक्रममा डा. सुवासका सहपाठी, शिक्षक, सहकर्मी, सुभचिन्तक र परिवारले पुस्तकबारे समीक्षा र टिप्पणी गरेका थिए।

बुवा घनराज लोहनीले पुस्तकबाट आर्जित रकम डा सुवास लोहनीको स्मृतिमा ललितपुर माध्यमिक विद्यालयका विद्यार्थीलाई ‘चम्कीला तारा’ नामक पुरस्कारको रुपमा प्रदान गरिने बताए। डा लोहनीको स्मृतिमा उनको कृतिको प्रचारप्रसारसँगै अनाथलयमा आर्थिक सहयोग गर्ने लोहनी परिवारको भनाइ छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .