मौसम क्रमिक रूपमा सुधार हुँदै गएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्।
महाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसार आज धेरै ठाउँमा वर्षाको सम्भावना छैन। ‘मौसम क्रमिक रूपमा सुधार हुँदै छ,’ उनले भनिन्। केही दिनदेखि देशभरजसो दिनदिनै वर्षा भइरहेको थियो।
मौसम महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा दिउँसो पहाडी भेगमा आंशिकदेखि सामान्य बदली (आकाशमा बादल) रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। कोशी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी भेगका थोरै स्थान र अन्य प्रदेशका पहाडी भूभागका एक–दुई ठाउँमा मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ।
मौसमविद्का अनुसार एक/दुई ठाउँमा मात्र पानी पर्ने सम्भावना देखिनु भनेको वर्षाको सम्भावना कम हुनु हो।
यसैबीच आज काठमाडौँ उपत्यकामा वर्षाको सम्भावना कम देखिएको महाशाखाकी मौसमविद् शाक्यले जानकारी दिइन्। ‘भए पनि क्षणिक खालको वर्षा मात्र हुन्छ, हिजोको जस्तो हुँदैन’, उनले भनिन्।
महाशाखाको बुलेटिनअनुसार राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका पहाडी भेगका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ।
Shares

प्रतिक्रिया