प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचार र आर्थिक अनियमिततामा जोडिएका कोही कसैलाई पनि नछाडिने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको पार्टी पदाधिकारीको अनौपचारिक बैठकमा उनले नक्कली शरणार्थी प्रकरणमा जोडिएका कोही कसैले पनि उन्मुक्ति नपाउने बताएका हुन्।
प्रधानमन्त्रीले नक्कली शरणार्थी बनाउने र त्यससँग जोडिएर गैरकानुनी रुपमा आर्थिक चलखेल गर्नेलाई कानुनी दायरामा ल्याउन सरकारले अधिकतम पहल गर्ने बताएको उनको सचिवालयले जनाएको छ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका सन्दर्भमा छलफल गर्न बोलाइएको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो। माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलका अनुसार बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष दाहालले सरकार आर्थिक अनियमितता र भ्रष्टाचारविरुद्ध कडा रुपमा प्रस्तुत भएको बताए।
बैठकमा पार्टी पदाधिकारीले राजनीतिक रङ्ग नदिइकन शरणार्थी प्रकरणमा जोडिएका सबैलाई कानुनी दायरामा ल्याउन सरकारले कडा रुपमा प्रस्तुत हुनुपर्ने धारणा राखेका थिए। प्रधानमन्त्री दाहालले पदाधिकारीमा रहेका नेतालाई आगामी आवको नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्ने विषय लिखित रुपमा नै पेस गर्न निर्देशन दिएका थिए।
सरकार विस्तार, गठबन्धनमा आबद्ध दलहरुबीचमा भइरहेको छलफल तथा समाजवादी मोर्चालगायतका विषयमा बैठकमा छलफल भएको थियो। पार्टीका अर्का सचिव गणेश साहका अनुसार बैठकमा सरकारका काम/कारबाहीलगायत विषयमा छलफल भएको थियो। रासस
Shares

प्रतिक्रिया