काठमाडौँको कपनस्थित सरस्वतीनगरमा भाँडा पसल सञ्चालक निरु भन्ने नीरा पाण्डेको हत्यापछि लुटिएको सिक्री विनोद विकले एक ज्वेलर्सलाई बेचेको खुलेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता एसएसपी दिनेश आचार्यले आइतवार पत्रकार सम्मेलनका क्रममा उक्त कुरा खुलाएका हुन्।
वैशाख ७ गते दिउँसो निरुको हत्यापछि विनोदले बजार मूल्यअनुसार करिब ९९ हजार पर्ने उक्त सुनको सिक्री तारकेश्वर नगरपालिकास्थित एक ज्वेलर्समा बेचेको खुलेको हो।
आचार्यका अनुसार लुटिएको बिलबिनाको सिक्री तारकेश्वर नगरपालिकास्थित पाथीभरा सुनचाँदी पसलले किनेको पाइएको हो।
'घटनामा लगाएको कपडा ब्याग र जुत्ता बरामद भएको छ। साथीको कोठाबाट रगत लागेको कालो टिसर्ट पनि बरामद भइसकेको छ', आचार्यले भने, 'लुटेको सुनको सिक्री तारकेश्वरस्थित पाथीभरा सुनचाँदी पसलमा ५५ हजारमा बेचेका रहेछन्। हामीले बरामद गरेका छौँ।'
ज्वेलर्सले उक्त सिक्री बजार मूल्यभन्दा आधा मूल्यमा किनेको थियो। उक्त सिक्री बेचेपछि विनोद त्यसकै खर्चमा वैशाख १४ गते झापा पुगेका थिए। उनलाई प्रहरीको संयुक्त अनुसन्धान टोलीले शनिबार राति १० बजे झापाबाट पक्राउ गरेको हो।
Shares

प्रतिक्रिया