ad ad

समाज


फोहोर बोक्ने ट्रकले ठक्कर दिँदा अमेरिकामा नेपाली बालकको मृत्यु, आमा गम्भीर घाइते

फोहोर बोक्ने ट्रकले ठक्कर दिँदा अमेरिकामा नेपाली बालकको मृत्यु, आमा गम्भीर घाइते

नेपालखबर
पुस २३, २०७६ बुधबार ५:५६,

एक जना १० वर्षीय बालकलाई स्कुल जाने क्रममा आमासँगै फोहोर बोक्ने ट्रकले ठक्कर दिएपछि उनको मृत्यु भएको छ। अमेरिकाको कोरोनामा रहेको लेफ्राक सिटी अपार्टमेन्ट बाहिर ९७औँ सेन्टनजिकै ५७औँ एभेमा बाटो काट्ने क्रममा ट्रकको ठक्करमा श्रीजन त्रिपाठीको मृत्यु भएको मिडियाहरुले जनाएका छन्।

श्रीजन आफ्नो ४० वर्षीया आमासँगै बाटो काटिरहेका थिए। स्थानीय समयअनुसार बिहान ७ बजे फोहोर बोक्ने ट्रकले व्यावसायिक सडक छोडेर दुवै जनालाई ठक्कर दिएको हो। ट्रकको पछाडि टायरले बच्चालाई किचेको बताइएको छ। घटनाका प्रत्यक्षदर्शी प्रकाश तुलाधरका अनुसार उक्त दृश्य विभत्स थियो। तुलाधरका अनुसार श्रीजन स्कुल जाने क्रममा दुर्घटनामा परेका हुन्।

श्रीजन र उनकी आमा मिना पन्थीलाई एल्महर्स्ट अस्पतालमा लगिएको थियो। तर अस्पतालमा पुर्याएको चार घण्टापछि श्रीजनको मृत्यु भएको न्युयोर्क डेली न्युजले जनाएको छ।

मिनाको खुट्टामा चोट लागेको छ। उनलाई छोराको मृत्युबारे केही जानकारी नदिइएको बताइएको छ। मिनालाई भेट्न पुगेका पारिवारिक साथी यादव बास्तोलाका अनुसार श्रीजन निकै चलाख बच्चा थिए। उनका बुबाले छोराको बारेमा आफूसँग सधैँ कुरा गर्ने गरेको उनले सुनाए।

गैरआवासीय नेपाली संघ न्युयोर्कका अध्यक्ष रामहरी अधिकारीले घटनाले परिवारलाई ठूलो क्षति पुगेको बताए। आफूले घटना पत्याउनै नसकिरहेको उनले बताएका छन्। ‘हामी यहाँ (अमेरिका) ठूलो सपना देखेर आउँछौँ तर यस्तै यस्तै भइदिन्छ’, उनले भने।

श्रीजनका बाबु पुरुषोत्तम पन्थी हुन्। उनले पारिवारिक साथी सिल्भिया मार्टिनलाई अस्पतालबाटै फोन गर्दै आफूले छोरोलाई बचाउन नसकेको भन्दै ग्लानि अनुभव गरेको बताएका थिए। मार्टिन लेफ्राक सिटीको सार्वजनिक पुस्तकालयका प्रमुख हुन् भने श्रीजनका बाबु उक्त पुस्तकालयको बोर्ड सदस्य हुन्। त्यहाँ उनले नेपाली र अन्य भाषा पढाउँथे।

मार्टिनले पनि श्रीजन निकै चलाख, हँसिलो र सुन्दर बालक भएको बताइन्। ट्रकले मुख्य सडक छोडेर दायाँतर्फ मोडिने क्रममा दुर्घटना भएको हो।

न्युयोर्क टाइम्सका अनुसार पन्थी दम्पती सन् २०१० मा न्युयोर्क आएका थिए। श्रीजनका बाबु लंग आइल्यान्डमा रसायन शास्त्रीका रुपमा काम गर्छन् भने मिना ब्रोन्क्समा ब्युटी सलुन चलाउँछिन्।

प्रहरीले दुर्घटनाको अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .